नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अगाडी बढाइएको छ । नव गठित निर्वाचन समितिले निर्वाचनसँग सम्बन्धित सम्पूर्ण कार्यतालिका सार्वजनिक गरेसँगै निर्वाचन कार्यक्रम अघि बढेको हो ।
वरिष्ठ अधिवक्ता सीताराम केसी संयोजक रहेको पाँच सदस्यीय निर्वाचन समितिले मंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै आजैदेखि निर्वाचन प्रक्रिया सुरु हुने जनाएको हो । सार्वजनिक तालिकाअनुसार राति ९ बजेदेखि १ बजेसम्म मतदान सञ्चालन गरिनेछ ।
निर्वाचन समितिले जारी गरेको सूचनाअनुसार आज मध्यान्ह साढे १२ बजेसम्म पहिलो मतदाता नामावली सार्वजनिक गरिनेछ । सो नामावलीमाथि दाबी–विरोध तथा छलफलका लागि साढे १ बजेसम्म समय तोकिएको छ। त्यसपछि दिउँसो ४ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिने कार्यतालिकामा उल्लेख छ ।
मतदाता नामावली टुंगिएपछि उम्मेदवार दर्ता प्रक्रिया अघि बढ्नेछ । निर्वाचन समितिका अनुसार दिउँसो २ देखि ३ बजेसम्म मनोनयन दर्ता हुनेछ । त्यसपछि साढे ४ बजे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक गरिनेछ भने साँझ ८ बजेर ४५ मिनेटमा अन्तिम नामावली प्रकाशन गरिनेछ ।
अन्तिम नामावली प्रकाशनपछि राति ९ बजेदेखि मतदान सुरु भई राति १ बजेसम्म चल्ने व्यवस्था गरिएको छ । मतदान केन्द्रीय निर्वाचन समितिका लागि मात्र हुने जनाइएको छ ।







प्रतिक्रिया राख्नुहोस्