चलचित्र अध्ययनमा स्नातकोत्तर ‘मास्टर इन फिल्म स्टडीज’ कार्यक्रम शुरु

काठमाडौं– नेपालमा पहिलो पटक चलचित्र अध्ययनमा स्नातकोत्तर तहको पढाइ शुरु भएको छ । काठमाडौं विश्वविद्यालय, कला सङ्काय अन्तर्गत भाषा तथा आमसञ्चार विभागले नेपालमै पहिलो पटक ‘मास्टर इन फिल्म स्टडीज’ कार्यक्रमको औपचारिक शुभारम्भ गरेको छ । विभागले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर नयाँ विधाको पढाइबारे जानकारी गराएको हो ।
यो शक्षिक कार्यक्रम यहि सन् २०२६ को फेब्रअरी देखि हात्तीबनस्थित ‘स्कूल अफ आर्ट्स’ क्याम्पसमा सञ्चालन हुने विभागले जनाएको छ । अध्ययनले विद्यार्थीहरूलाई फिल्मको सिद्धान्त, इतिहास, सौन्दर्यशास्त्र र सांस्कृतिक अध्ययनका साथै व्यावहारिक रुपमै फिल्म निर्माणको सीप प्रदान गर्ने उद्देश्य राखेको छ ।
६६ क्रेडिट आवर पढाइ हुने दुई वर्षे यस कार्यक्रमले नेपालमा फिल्म अध्ययनलाई औपचारिक शैक्षिक विधाको रूपमा स्थापित गर्ने विश्वास लिइएको छ । पाठ्यक्रममा फिल्म प्रोडक्सन, कथानक डिजाइन तथा स्क्रिन राइटिङ, फिल्म फर्म र न्यारेटिभ, नाट्यशास्त्र, कृत्रिम बुद्धिमत्ता र फिल्म, अनुसन्धान पद्धति लगायत फिक्सन तथा नन–फिक्सन फिल्मसम्बन्धी विषयहरू समावेश रहेको त्यसबखत जानकारी दिइयो ।
कार्यक्रममा प्रमखु अतिथिका रुपमा उपस्थित प्रसिद्ध फिल्मकर्मी यादव खरेल, नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी.सी.लगायत चलचित्रसंग सम्वन्धित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा विश्वविद्यालयका भाषा तथा आमसञ्चार विभाग प्रमखु प्राध्यापक निर्मलमणि अधिकारीले फिल्म अध्ययन कार्यक्रमको शुभारम्भ काठमाडौं विश्वविद्यालयका लागि सिर्जनात्मक शिक्षातर्फको एउटा महत्वपूर्ण फड्को भएको बताउनुभयो ।
कार्यक्रमका वक्ताहरुले यो अध्ययनले चलचित्र क्षेत्रमा दक्ष जनशक्ति स्वदेशमै उत्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुहुदै नेपालमा फिल्मिङ स्टुडियो निर्माण, उच्च प्रविधिको प्रयोग, र रियल-टाइम बक्स अफिस प्रणालीको आवश्यकता औँल्याउनुभयो ।।






प्रतिक्रिया राख्नुहोस्