तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार

दमौली (तनहुँ)- राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि व्यवहारमा त्यो पूर्ण रूपमा रुपान्तरण भएको छैन ।
संविधानमा महिलालाई गरिएको व्यवस्था कार्यान्वयन नभएकाले आफूहरू मैदानमा उत्रिएको उनीहरूले बताएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँबाट चार जना महिला प्रतिस्पर्धा गर्दै छन् । तनहुँका दुवै क्षेत्रमा २८ जनाको उम्मेदवारी परेकामा चार जना मात्रै महिला उम्मेदवार छन् । तनहुँ–१ मा १६ उम्मेदवारमध्ये तीन महिला र क्षेत्र नम्बर–२ मा १२ उम्मेदवारमध्ये एक जना महिला छन् ।
मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले क्षेत्र नम्बर १ मा आमजनता पार्टीबाट भानु नगरपालिका–१२ की चिजामाया अधिकारी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट भानु नगरपालिका–८ की भगवती न्यौपाने र नेपाल मजदुर किसान पार्टीबाट भक्तपुर नगरपालिका–४ निवासी रामलक्ष्मी दुवालको उम्मेदवारी दर्ता भएको जानकारी दिनुभयो ।
यसैगरी क्षेत्र नम्बर–२ मा मङ्गोल अर्गनाइजेसन पार्टीबाट ऋषिङ गाउँपालिका–६ निवासी सुष्मा आलेको उम्मेदवारी दर्ता भएको छ ।
दुई वटा निर्वाचन क्षेत्र भएको बागलुङमा २३ जनाको उम्मेदवारी परेको छ । तीमध्ये दुई जना मात्र महिला छन् ।
बागलुङ क्षेत्र नम्बर–१ बाट मङ्गोल नेशनल अर्गनाइजेशनकी गुमाकुमारी मगर र क्षेत्र नम्बर–२ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)की मञ्जु शर्मा चुनावमा होमिनुभएको छ ।
पाल्पामा पनि महिला उम्मेदवार एक जना मात्र छन् । दुई वटा निर्वाचन क्षेत्र भएको पाल्पामा ३० जनाले मनोनयन दर्ता गराएकामा एक जना महिलाको मात्र उम्मेदवारी परेको हो। राष्ट्रिय जनमोर्चाले क्षेत्र नं १ बाट नरमती सिंजालीलाई उम्मेदवार बनाएको छ ।
यसैबीच, नेपाल महिला सङ्घकी नेत्री गङ्गा पौडेलले महिला सशक्तीकरणका निम्ति राजनीतिक दलहरू गम्भीर नभएका आरोप लगाउनुभएको छ । पाल्पामा एक जना महिलाको मात्र उम्मेदवारी पर्नु दल र तिनका नेताको महिलाप्रतिको दृष्टिकोण नबदलिएको उहाँ बताउनुहुन्छ ।






प्रतिक्रिया राख्नुहोस्