गोरखामा डा. भट्टराईसहित प्रलोपाको दुवै क्षेत्रको उम्मेदवारी फिर्ता

आत्माराम श्रेष्ठ, गोरखा– प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ बाट आगामी फागनु २१ गतेको निर्वाचनका लागि उम्मेदवारी दिनु भएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आज उम्मेदवारी फिर्ता लिनुभएको छ । गोरखा नगरपालिका–८, स्थित निर्वाचन कार्यालयमा आफ्ना प्रतिनिधि नारायण खत्रीमार्फत डा. भट्टराईले उम्मेदवारी फिर्ता लिनुभएको निर्वाचन अधिकृत मोहनप्रसाद बेल्बासेले जानकारी दिनुभयो ।
शुक्रबार आफ्नो उम्मेदवारी फिर्ताको घोषणा गरेपछि उहाँले आफू निरन्तर जनताको सेवामा लागिरहने बताउनुभएको छ । उहाँले देशले आवश्यक ठानेको व्यक्तिलाई आगामी निर्वाचनमा सघाउने प्रतिबद्धता समेत जनाउनुभएको छ ।
‘आगामी दिनमा देशले चाहेको अनुसारकै व्यक्तिलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु,’ भट्टराईले भन्ननुभयो, ‘प्रस्तावक र समर्थक साथीहरूलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।’
विभिन्न व्यक्ति र दलहरूको आग्रहपछि आफूले उम्मेदवारी फिर्ता लिने निर्णय लिएको उहाँको भनाइ छ ।
उहाँले प्रगतीशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) को तर्फबाट उम्मेदवारी दिनुभएको थियो । त्यस्तै प्रलोपा गोरखा क्षेत्र नम्बर १ का उम्मेदवार गोपालबाबु श्रेष्ठले पनि आज उम्मेदवारी फिर्ता लिनुभएको मुख्य निर्वाचन अधिकृत बिष्णुप्रसाद गौतमले जानकारी दिनुभयो । कार्यालयमा प्रस्तावक तथा समर्थकसहित उपस्थित भएर श्रेष्ठले उम्मेदवारी फिर्ता लिनु भएको हो ।
उहाँहरुको उम्मेदवारी फिर्ता भएसंगै आसन्न प्रतिनिधिसभाको निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ मा अव १२ जना र क्षेत्र नम्बर २ मा १३ जना उम्मेदवारी कायम भएको छ ।






प्रतिक्रिया राख्नुहोस्