दर्मीजामा सामुदायिक भवन निर्माण

म्याग्दी- म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दर्मीजामा बहुउद्देश्यीय सामुदायिक भवन निर्माण भएको छ ।

४२ लाख रुपैयाँको लागतमा करिब ३०० जना क्षमताको सामुदायिक भवन निर्माण भएको हो । भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट १५ लाख र रघुगङ्गा गाउँपालिकाबाट २० लाख रुपैयाँ बजेट विनियोजन भएको उपभोक्ता समितिका अध्यक्ष विप्रसाद पुनले जानकारी दिनुभयो ।

दर्मीजा प्रभावित क्षेत्र रहेको माथिल्लो राहुघाट जलविद्युत् आयोजनाको प्रवद्र्धक तुदी पावर कम्पनीले रु पाँच लाख सहयोग गरेको छ । आयोजनाको सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत थप रु तीन लाख विनियोजन भएको वडाध्यक्ष पविन गर्बुजाले बताउनुभयो ।

निर्माण सुरु भएको तीन वर्षमा भवन सम्पन्न भएको हो । भवन निर्माण भएपछि भेला, बैठक, छलफल, सांस्कृतिक कार्यक्रम आयोजना गर्न सहज भएको छ । विवाह, छेवार, किरियालगायत संस्कारगत कार्य र भोजभतेरका लागि टहरा बनाउनुपर्ने समस्या हटेको छ ।

दर्मीजामा १०० घरपरिवारको बसोबास छ । यसअघि पञ्चायतकालमा निर्माण भएको भवन सामुदायिक भवन जीर्ण बनेपछि त्यसलाई भत्काएर नयाँ निर्माण गरिएको हो । भवनको दर्मीजाका ज्येष्ठ नागरिक पदमबहादुर गर्बुजा र प्रतिनिधिसभाका निर्वतमान सांसद खमबहादुर गर्बुजा (खम्बिर)ले शुक्रबार उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, पूर्वसांसद विनोद केसी, रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष प्रेमकुमारी पुन लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.