भाटभटेनी -‘झुण्डिएका देवता’ वृत्तचित्र काठमाडौंमा सार्वजनिक

काठमाडौं –  भाटभटेनी ‘झुण्डिएका देवता’  वृत्तचित्र आज एक विशेष समारोहका बीच काठमाडौंमा सार्वजनिक गरिएको छ । काठमाडौं महानगरपालिका वडा नं ५ को आयोजनामा भएको कार्यक्रममा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले वृतचित्र सार्वजनिक गर्नुभएको हो । उहाँले भाटभटेनीको इतिहासलाई जीवन्त राख्न र यसको महत्वलाई पुस्तान्तरण गर्न वृत्तचित्रले सघाउने बताउनुभयो ।

वृत्तचित्र नेपाल टेलिभिजनका क्यामेरा पर्सन तथा चलचित्र निर्देशक प्रद्य‍ुम्न मिश्रले निर्माण तथा निर्देशन गर्नुभएको हो । त्यस अवसरमा मिश्र लगायत वृतचित्र निर्माणका विभिन्न विधामा संलग्न व्यक्तिहरुलाई सम्मान गरियो । सम्मानित हुनेमा वृतचित्र लेखनमा सुभद्रा गौतम, ड्रोन पाइलटका रुपमा टेकबहादुर खड्का, निर्माणमा लक्ष्मी मिश्र र स्वराङ्कनमा ममता कोइराला लगायत हुनुहुन्छ ।

वृत्तचित्रमा काठमाडौंको हाँडीगाउँमा रहेको पृथक किसिमको भाटभटेनी मन्दिर र त्यहाँ राखिएका देवी-देवता तथा मन्दिरको ऐतिहासिक एवं कलात्मक पक्षका विषय समेटिएको छ ।

भाटभटेनी देवी र देवतालाई आसन र सिंहासनमा नराखी जमिनभन्दा माथि झुण्ड्याएर राखिएको अद्‍भुत मन्दिर हो । किन भाटदेवता, भटेनी देवी अनि उनीहरुका छोरा बालगोपाललाई आसनमा नराखेर जमिनमाथि बलियो सिक्रीले झुण्ड्याएर राखियो भन्ने प्रश्नलाई विभिन्न मिथक तथा पुरातात्विक प्रमाणका आधारमा वृत्तचित्रमा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.