मिथ्या सूचना प्रवाह गर्ने प्रवृत्ति न्यूनीकरण गर्न मिडिया साक्षरता बढाउन आवश्यक

कीर्तिपुर– सूचना प्रविधि क्षेत्रका विज्ञहरूले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी ‘अनलाइन’ र ‘अफलाइन’ माध्यमबाट राजनीतिक दलका समर्थक तथा विरोधीहरूले सङ्गठित रूपमा पनि मिथ्या सूचना फैलाउन सुरु गरेको बताएका छन्  ।
त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र सेन्टर फर मिडिया रिसर्च नेपाल (सिएमआर–नेपाल) ले आज  यहाँ आयोजना गरेको ‘मिथ्या सूचनाविरुद्ध काठमाडौँ सम्मेलन’ मा विज्ञहरूले मिथ्या सूचना फैलउन सुरु भएको र त्यसले जनमतलाई पार्न सक्नेतर्फ सचेत रहनुपर्ने औँल्याएका छन् ।
सम्मेलनमा वक्ता तथा अध्येताहरूले मिथ्या सूचना प्रवाह गर्ने प्रवृत्ति न्यूनीकरण गर्न मिडिया साक्षरता बढाउन आवश्यक रहेको बताएका हुन् ।
मणिपाल एकेडेमी अफ हायर एजुकेसनकी प्रा डा पद्मा रानीले प्रविधि र पहुँचले गर्दा सही सूचना र मिथ्या सूचनाबीचको अन्तर थाहा पाउन जटिल भएको बताउनभुयो । उहाँले सामाजिक सञ्जालका साथै मूलधारका मिडियाबाट समेत मिथ्या सूचना आउने गरेकाले त्यसविरुद्ध सरोकार भएका सबै लाग्नुपर्ने धारणा राख्नुभयो ।
त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक सङ्कायका कार्यवाहक डिन डा वामदेव अधिकारीले सोसल मिडियामार्फत ‘डिजिटल वार’ भइरहेको उल्लेख गर्दै  सत्यतथ्य सूचना पहिचान गर्न र आलोचनात्मक ढङ्गले हेर्न जरुरी  रहेको बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख डा कुन्दन अर्यालले मिडियाको परिदृश्य परिवर्तन भएको बताउनुभयो । उहाँले प्रविधि र सामग्रीले जनमत प्रभावित हुने भएकाले मिडियाले समाजको बृहत्तर हित हेर्नुपर्ने धारणा राख्नुभयो ।
सिएमआर–नेपालका अध्यक्ष नवीन खतिवडाले हालको परिवेशमा मिथ्या र सत्य सूचना के हो भन्ने अन्योल भएकाले यस विषयमा हुने छलफल र सम्मेलनले त्यसको पहिचानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
विज्ञ डा धिरेन्द्र नाल्बोले मिथ्या सूचनाले हरेक क्षेत्रमा चुनौती थपेको बताउनुभयो । उहाँले निर्वाचनका बेला निर्वाचन अभियान र ‘प्रोपागाण्डा’सँगै मिथ्या सूचना आउने भएकाले त्यसबाट जोगिन आवश्यक रहेको बताउनुभयो ।
सञ्चारविज्ञ डा विनोद भट्टराईले मिडियाको प्रयोग गर्ने शैलीमा व्यापक परिवर्तन भएको उल्लेख गर्दै तथ्यमा आधारित जनचाहनाका विषयलाई प्राथमिकता नदिने हो भने पत्रकारिता अझ बढी सङ्कुचित हुने बताउनुभयो ।
सम्मेलनमा कर्णाली प्रदेशमा मिथ्या सूचनाको प्रभाव, मिथ्या सूचनाबारे जनताको दृष्टिकोण, जनकपुरका युवामा मिथ्या सूचनाको प्रभाव, मुस्लिम समुदायप्रति मिडियामा हुने गलत भाष्यसम्बन्धी अनुसन्धान प्रतिवेदन प्रस्तुत गरिएको थियो  ।
यसैगरी जेनजी आन्दोलनमा ‘डिस्कर्ड’को प्रभाव, समाचार कक्षमा ‘एआई’को प्रयोग, सुरक्षामा सूचना असन्तुलनको प्रभाव, समाचार शाखामा तथ्य परीक्षण, पत्रकारिता शिक्षा र मिथ्या सूचना, मधेस प्रदेशमा सोसल मिडियाको प्रयोग र त्यसका असर, नेपालमा ‘फ्याक्ट चेक’को अवस्था, पत्रकारिताका विद्यार्थीमा मिडिया साक्षरतालगायत विषयमा प्रस्तुतीकरण गरिएका थिए ।
दुईदिने सम्मेलनमा आइतबार मिथ्या सूचनाको प्रतिकार, मिडिया शिक्षाको भूमिका,  जलवायुका विषयमा मिथ्या सूचना र सोसल मिडिया प्लेटफर्महरूको जिम्मेवारीलगायत विषयमा छलफल गरिनाका साथै सोसल मिडियामा सामग्री निर्माताबारे गरिएको अध्ययनको नतिजा प्रस्तुत गरिने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.