भेनेजुएलामा कारबाहीका क्रममा गोप्य हतियारको प्रयोग : ट्रम्प

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका नेता निकोलस मादुरोलाई नियन्त्रणमा लिने क्रममा अमेरिकाले एक गोप्य हतियार प्रयोग गरेको दाबी गर्नुभएको छ । सो हतियारका कारण भेनेजुएलाका सैन्य उपकरणहरू काम नगर्ने अवस्थामा पुगेको उहाँले बताउनुभयो

एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले उक्त हतियारका कारण भेनेजुएलाले प्रयोग गर्न तयार पारेका क्षेप्यास्त्र र अन्य सैन्य प्रणाली निष्क्रिय बनेको दाबी गर्नुभयो । उहाँका अनुसार रूसी र चिनियाँ सहयोगमा तयार गरिएका उपकरणहरूले बटन थिच्दा पनि कुनै काम गर्न सकेनन् ।

यसअघि मादुरोको निवास क्षेत्रमा गरिएको कारबाहीका क्रममा राजधानी काराकासका धेरै स्थानमा बत्ती निभेको ट्रम्पले बताउनुभएका थिए, तर त्यसको तरिका खुलाएका थिएनन्

राष्ट्रपति ट्रम्पले लागुऔषध तस्कर समूहविरुद्ध सैनिक कारबाहीलाई निरन्तरता दिने सङ्केत पनि गर्नुभएको छ । उहाँका अनुसार यस्तो कारबाही मध्य अमेरिका र मेक्सिकोसम्म पनि फैलिन सक्नेछ ।

हालै अमेरिकाले प्रशान्त महासागर क्षेत्रमा लागुऔषध तस्करीमा संलग्न एक डुङ्गामाथि आक्रमण गरेको थियो । मादुरो नियन्त्रणमा लिएयता यो पहिलो सैन्य कारबाही हो । गत सेप्टेम्बरयता क्यारिबियन र प्रशान्त क्षेत्रमा भएका यस्ता कारबाहीमा एक सय सत्र जनाको मृत्यु भइसकेको बताइएको छ ।

ट्रम्पले भेनेजुएलासँग सम्बन्धित सातवटा तेल बोक्ने जहाज नियन्त्रणमा लिएको दाबी पनि गर्नुभयो । ती जहाज कहाँ राखिएका छन् भन्ने विषयमा भने उहाँले जानकारी दिन अस्वीकार गर्नुभयो ।

अन्तर्वार्तामा उहाँले भेनेजुएलाका विपक्षी नेतृ मारिया कोरिना माचाडोले आफूलाई प्रदान गरेको नोबेल शान्ति पुरस्कार कहाँ राख्ने भन्ने विषयमा समेत सोचिरहेको बताउनुभयो ।

यसैबीच, आर्कटिक क्षेत्रको सुरक्षा सम्झौतासम्बन्धी विषयमा डेनमार्क र ग्रिनल्यान्डका नेताहरूले आफ्नो सार्वभौमिकता सम्झौताबाट प्रभावित नहुने स्पष्ट पार्नुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.