समानुपातिकतर्फको मतपत्र छपाइ सकिएसँगै प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु

काठमाडौँ- आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सुरु भएको छ ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगाएतका अधिकारीहरुले जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमी पुगेर छपाइ भइरहेको प्रत्यक्षतर्फको मतपत्रको कामको निरिक्षण गर्नुभयो ।
निरीक्षणपछि प्रमुख निर्वाचन आयुक्त भण्डारीले प्रत्यक्षतर्फको २ करोड ३ लाख २३ हजार मतपत्र छपाई सुरु भएको जानकारी दिनुभयो ।
मतपत्र छाप्ने काम करिव १५ दिनभित्र सम्पन्न हुने उहाँले बताउनुभयो । आगामी फागुन ५ गतेभित्र सबै निर्वाचन क्षेत्रमा मतपत्र पठाइसक्ने योजना रहेको भण्डारीको भनाइ छ ।
आसन्न निर्वाचनमा प्रयोग हुने समानुपातिकतर्फको मतपत्र छपाइ कार्य पनि आजै सकिएको छ ।
केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजार प्रति मतपत्र छपाइ कार्य सम्पन्न भएको जानकारी दिनुभयो ।
केन्द्रले यसअघि १० लाख ९८ हजार २०० नमूना मतपत्र छापेर आयोगलाइ पठाइसकेको छ ।।






प्रतिक्रिया राख्नुहोस्