अब कांग्रेसभित्र न गुट छ,न भागबण्डा – सभापति थापा
काँग्रेसले चुनाव जित्ने मात्र होइन नयाँ प्रतिबद्धतासहित देश सम्हाल्ने क्षमता राख्छ

काठमाडौँ- नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले काँग्रस भित्र गुट र भागबण्डाको अवस्था समाप्त भएको बताउनु भएको छ ।
शनिबार काठमाडौं–४ मा आयोजित चुनाव लक्षित कार्यक्रममा बोल्दै सभापति थापाले कांग्रेसभित्र गुटबन्दी र ६०–४० को भागबण्डा अवस्था समाप्त भएको धारणा राख्नु भएको हो ।
‘अब कांग्रेसभित्र न गुट छ, न भागबण्डा’, थापाले भन्नुभयो, ‘पार्टीभित्र र बाहिर सबैलाई समान व्यवहार हुन्छ । पार्टी सभापतिको अँध्यारो कोठामा कसैसँग पनि अप्राकृतिक सम्झौता हुँदैन।’
काँग्रेसले केवल चुनाव जित्ने मात्र नभई नयाँ प्रतिबद्धतासहित देश सम्हाल्ने क्षमता राख्ने पनि उहाँले बताउनु भयो ।
अब नेता–कार्यकर्ताले बदलिएको कांग्रेसको सन्देश घरघरमा पुर्याउन आग्रह गर्दै सभापति थापाले अब कांग्रेस पुरानो होइन, जिम्मेवार, समावेशी र जोड्ने राजनीति गर्ने नयाँ युगको कांग्रेस भएको उल्लेख गर्नु भयो ।
पार्टीका स्थानीय नेताहरूले रोक्दा–रोक्दै पनि आफूले जोखिम उठाएको बताउनु हुँदै थापाले देशको नेतृत्व गर्ने हो भने मधेसलाई र मधेशका मुद्दालाई बुझ्नु पर्ने र आफ्नै मुद्दा बनाउनु पर्ने भन्दै त्यसैका लागि आफु मधेश झरेको बताउनु भयो ।
‘काठमाडौं छाडेर गयो भनेर नभन्दिनु होला, त्यसो भनिदिँदा मलाई दुख्छ’, भन्दै भावुक बनेका थापाले काठमाडौंका नेता–कार्यकर्ता र स्थानीय समुदायसँगको सम्बन्ध निर्वाचनले नटुट्ने बताउनु भयो । आफु तोड्ने राजनीतिमा नभइ जोड्ने राजनीतिमा विश्वास गर्ने र उत्तेजना नभइ चेतनाको राजनीति गर्ने पनि उहाँले बताउनु भयो ।





प्रतिक्रिया राख्नुहोस्