लोकतान्त्रिक मूल्यहरूको संरक्षण सार्वजनिक सेवा प्रसारणको प्रमुख दायित्व हो -उपराष्ट्रपति

काठमाडौँ- उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सार्वजनिक सेवा प्रसारण- नेपाल टेलिभिजनले राष्ट्र र जनतालाई केन्द्रमा राखी राष्ट्रिय एकता, समृद्धि र विपत्तिमा नागरिकको जीवन रक्षा गर्ने तीन आधारभूत स्तम्भलाई आत्मसात गर्नु प्रशंसनीय रहेको धारणा राख्नु भएको छ ।

नेपाल टेलिभिजनले ४१ वर्ष पूरा गरेको अवसरमा सनिवार नेपाल टेलिभिजनमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै उपराष्ट्रपति यादवले श्रव्य–दृश्य पत्रकारितामा नेपाल टेलिभिजनको भूमिका  महत्त्वपूर्ण रहेको बताउनु भयो ।

यस्तो छ उपराष्ट्रपति सम्बोधनको पूर्ण पाठ 

नेपालको पहिलो टेलिभिजन प्रसारण संस्था ‘नेपाल टेलिभिजन’ले ४१ वर्ष पूरा गरेको यस ऐतिहासिक अवसरमा सम्पूर्ण पदाधिकारी, कर्मचारी तथा दर्शक–श्रोतालाई हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछु । चार दशकभन्दा बढी समयदेखि राष्ट्र र जनताको आवाजलाई श्रव्य–दृश्य माध्यममार्फत प्रसारित गर्दै आएको यस संस्थाले पत्रकारितामा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।

राष्ट्रिय प्रसारण ऐन, २०८१ जारी भएपछि रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारणमा रुपान्तरण भई सञ्चालन हुनु सकारात्मक कदम हो । यस संस्थाले राष्ट्र र जनतालाई केन्द्रमा राखी राष्ट्रिय एकता, समृद्धि र विपत्तिमा नागरिकको जीवन रक्षा गर्ने तीन आधारभूत स्तम्भलाई आत्मसात गर्नु प्रशंसनीय छ । यस दृष्टिकोणले सरकारी सञ्चार माध्यमलाई अझ जिम्मेवार, पारदर्शी र जनमुखी बनाएको विश्वास लिएको छु ।

यसै वर्ष दुई प्रादेशिक च्यानलसहित पाँच वटा टेलिभिजन च्यानल सञ्चालन गर्दै आएको नेपाल टेलिभिजनले अंग्रेजी भाषामा ‘एनटीभी वल्र्ड’ सुरु गरेकोमा खुशी व्यक्त गर्दछु । यस च्यानलले नेपाल टेलिभिजनको आवाजलाई विश्वभर पुर्याउने महत्वपूर्ण प्लेटफर्मको रूपमा योगदान पुर्याउन सकोस् । सार्वजनिक सेवा प्रसारणको अवधारणाले सञ्चारलाई सूचनाको साधन मात्र नभई नागरिक अधिकार, अभिव्यक्ति स्वतन्त्रता र सामाजिक रुपान्तरणको माध्यम बनाएको छ ।

आजको यस डिजिटल युगमा विषयवस्तु, पहुँच, प्रस्तुति र प्रविधिलाई निरन्तर विस्तार गर्नु अपरिहार्य छ । नयाँ प्रविधि, डिजिटल प्लेटफर्म र बढ्दो जनअपेक्षालाई आत्मसात गर्दै प्रसारण सामग्रीको गुणस्तर र प्रभावकारिता बढाउनु आवश्यक छ । परम्परागत रेडियो वा टेलिभिजनमा सीमित नभई डिजिटल माध्यममार्फत जनतासम्म पुग्नु आजको चुनौती मात्र होइन, नयाँ पुस्तासम्म राष्ट्रको आवाज पुर्याउने अवसर पनि हो ।

सरकारी सञ्चार माध्यमहरूको प्रमुख दायित्व राष्ट्रको आवाजलाई सशक्त बनाउने, नागरिकलाई जानकारीमूलक, शैक्षिक तथा प्रेरणादायी सामग्री उपलब्ध गराउने र लोकतान्त्रिक मूल्यहरूको संरक्षण गर्ने हो। सत्य, निष्पक्षता, जिम्मेवारी र जवाफदेहितासहित जनतालाई सेवा पुर्याउनु नै यसको मूल कर्तव्य पनि हो । नेपाल टेलिभिजन र रेडियो नेपालले राष्ट्रिय एकता, सामाजिक सद्भाव, सांस्कृतिक विविधता र लोकतान्त्रिक मूल्यहरूको प्रवद्र्धनमा निरन्तर योगदान दिँदै आएकोमा गर्व लागेको छ।

यस अवसरमा, म सम्पूर्ण पदाधिकारी, कर्मचारी तथा दर्शक–श्रोतालाई आग्रह गर्न चाहन्छु– हामी सबै मिलेर सार्वजनिक सेवा प्रसारणलाई अझ सबल, प्रभावकारी र जनमुखी बनाउन योगदान गरौं । राष्ट्रको आवाजलाई विश्वभर पुर्याउने, नागरिकलाई सशक्त बनाउने र समृद्ध नेपाल निर्माणमा सहायक बन्ने हाम्रो सामूहिक जिम्मेवारी हो । सबैले आ–आफ्नो क्षेत्रबाट यो जिम्मेवारी पुरा गरौं ।

पत्रकारिता लोकतन्त्रको मेरुदण्ड हो । यसले समाजमा सत्य, तथ्य, निष्पक्षता र जनताको आवाजलाई उजागर गर्ने जिम्मेवारी निर्वाह गर्दछ । पत्रकारितामा समावेशिता, समान अवसर र सबैको आवाजको प्रतिनिधित्व हुनु लोकतान्त्रिक मूल्य र सामाजिक न्यायको आधारभूत शर्त हुन । कुनै पनि समुदाय वा नागरिकको आवाज उपेक्षित हुनु लोकतन्त्रको आत्मालाई कमजोर बनाउने कार्य हो । त्यसैले पत्रकारिता सबै वर्ग, भाषा, संस्कृति र भौगोलिक क्षेत्रलाई समान अवसरसहित प्रतिनिधित्व गर्ने माध्यम बन्नुपर्छ ।

विशेषगरी, सरकारी सञ्चार माध्यमहरूको भूमिका अझ महत्वपूर्ण हुन्छ । नेपाल टेलिभिजन र रेडियो नेपालले राष्ट्रको आधिकारिक आवाजलाई जनतासम्म पु¥याउने जिम्मेवारी निर्वाह गर्नुपर्छ । तथ्यपरकता, निष्पक्षता र विश्वसनीयता कायम गर्दै सबै समुदायलाई समान अवसर प्रदान गर्नु यसको दायित्व हो । नागरिकका समस्या, आकांक्षा र उपलब्धिलाई प्राथमिकतामा राख्दै जनताको आवाज बन्नु आवश्यक छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्येक मतदाताले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता संघीय लोकतान्त्रिक गणतन्त्रको मूल आधार हो । यसका लागि सञ्चार माध्यमहरूको भूमिका अत्यन्तै महत्वपूर्ण छ । निर्वाचनसम्बन्धी सही सूचना प्रवाह, मतदाताको सचेतना अभिवृद्धि तथा शान्तिपूर्ण वातावरण निर्माणमा सञ्चार माध्यमले जिम्मेवारीपूर्वक योगदान गर्नुपर्छ ।

यस अवसरमा, म सम्पूर्ण सञ्चारकर्मीलाई आग्रह गर्दछु– पत्रकारितालाई लोकतन्त्रको आधारस्तम्भ बनाउँदै समावेशिता, समान अवसर र सबैको आवाजलाई प्रतिनिधित्व गर्ने जिम्मेवारी दृढतापूर्वक निर्वाह गरौं । सत्य, निष्पक्षता र जनमुखी दृष्टिकोणलाई आत्मसात गर्दै राष्ट्रनिर्माणमा मार्गदर्शक भूमिका निर्वाह गरौं ।

अन्त्यमा, ४१औं वार्षिकोत्सवको विशेष समारोहमा सम्मानित व्यक्तित्वहरूलाई हार्दिक बधाई तथा उहाँहरूको सुख, शान्ति, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दछु । नेपाल टेलिभिजनको ४१औं वार्षिकोत्सवले विगतको गौरवलाई सम्झाउँदै भविष्यतर्फ दृढ संकल्पसहित अघि बढ्न प्रेरणा प्रदान गरोस्, पुनः हार्दिक शुभकामना छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.