मूल्य पाइने आशामा बोटमै जुनार

मन्थली (रामेछाप)- मुलुक चुनावी माहोलले तात्तिएको छ । तर यहाँका किसानलाई जुनारको चिन्ता छ । यहाँको रामेछाप नगरपालिका–७ ओख्रेनीका जुनार कृषकहरु जुनारको मूल्य कहिले पाइएला भन्ने चिन्तामा छन् ।
विगतको तुलनामा यसवर्ष जुनार उत्पादनमा केही कमी आए पनि बेमौसममा बिक्री गर्दा राम्रो मुल्य आउने आशामा उनीहरु छन् । उनीहरुले अझै जुनार र सुन्तला बोटमै राखेका छन् । मुख्य गरी मङ्सिरदेखि माघको पहिलो हप्ताभित्र जुनार टिपिसक्ने मौसम हो, तर केही जुनार कृषकले जुनार बिक्री गरिसके पनि ओख्रेनीका अधिकांश किसानले राम्रो मूल्य पाइन्छ कि भन्ने आशामा बगैँचामै राखेका हुन् ।
करिब पाँच सय बोटमा फलेको आफ्नो बगैँचाको जुनार राम्रो भाउ पाएपछि बिक्री गर्ने योजनामा अहिलेसम्म नटिपेको स्थानीय जुनार कृषक हिमाल तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई अहिले चुनावको रौनकभन्दा बोटैमा पाकेको जुनारको मूल्य कहिले पाइएला भन्ने चिन्ताले सताएको छ ।”
यसवर्ष गत असोज र कात्तिकमा परेको लगातारको वर्षाका कारण उत्पादनमा केही गिरावट आएको छ । गत मङ्सिर पुसतिर बगँैचाबाट बिक्री गर्दा ५० रुपैयाँ किलो मात्र पाएकोमा अब बेच्दा भने जुनार दानाको आकार हेरेर ६० देखि ९० रुपैयाँ प्रतिकिलो बिक्री हुने स्थानीय कृषक दिलमाया तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “आफूले जति पछि बेच्यो त्यति बढी पैसा आउने आशाले अहिलेसम्म पनि जुनार बोटमै राखेका छौँ, तर अब प्रतिकिलो ६०–७० मा बिक्री गर्ने तयारी छ ।”
जुनारले बिरुवा रोपेको दुईदेखि तीन वर्षदेखि उत्पादन दिन सुरु गर्छ । जुनार बगैँचाभित्र भटमास, लसुन, प्याज, काउली, बन्दालगायतका कोसे तथा तरकारीबालीहरु पनि लगाएरका कृषकले दोहोरो आम्दानी लिने गरेका छन् । आफूले पनि सिजन अफ भएपछि बिक्री गर्दा राम्रो मूल्य पाइने आशामा जुनार बिक्री नगरेको अर्का कृषक गिरीराज तामाङले बताउनुभयो ।
जुनारबाट जाम, जुस र अन्य पेयपदार्थसमेत बनाएर बिक्री गर्ने गएिको छ । जुनारको बजारको समस्या भने खासै नभएको रामेछाप नगरपालिका–७ सुकाजोरका कृषक रामकुमार कार्कीको भनाइ छ । बेमौसममा मूल्य पाइनु स्वाभाविक भए पनि माघमहिनाको अन्तिम सातादेखि फागुनको पहिलो सातासम्मा जुनार फुल्ने भएकाले मूल्य आउने आशामा बोटमै राख्न राम्रो नहुने जुनार जोन समन्वय समितिका प्राविधिक बताउँछन् । जुनारमा फूल फुल्ने बेलासम्म बोटमै जुनार राख्दा अर्को वर्षका लागि फुल्ने फूललाई असर गर्ने भएकाले समयमै टिपेर बरु चिस्यान घरमा राखेर बिक्री गर्दा कृषकहरुलाई फाइदा हुने जुनार जोन समन्वय समितिका अध्यक्ष गुञ्जबहाहुर कार्कीको सुझाव छ ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ रामेछापले भने मन्थली, रामेछाप नगरपालिका र लिखु तामाकोशी गाउँपालिकालाई जुनार जोनका रुपमा विकास गर्न विभिन्न कार्यक्रमहरु कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
जिल्लामा गत आर्थिक वर्ष २०८१/८२ मा ५८० हेक्टरमा जुनार खेती भएकामा चालु आवमा रामेछाप, मन्थली नगरपालिका र लिखु तामाकोशी गाँउपालिकासहित ६८० हेक्टर क्षेत्रफलमा जुनार खेती गरिएको राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ रामेछापकी नायब प्राविधिक सहायक भवानी बस्नेतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्राविधिक हिसाबले माघ फागुनसम्म जुनार बोटमा राख्नु राम्रो हैन ।”
हरेक जुनार उत्पादन हुने टोलमा शीत भण्डारको व्यवस्था गरी सिजनमा त्यहाँ राख्ने र बेमौसममा जुनार बिक्री गर्ने व्यवस्था मिलाउन सकेमा कृषकहरुलाई फाइदा पुग्ने स्थानीय लोकेन्द्र श्रेष्ठ बताउनुहुन्छ ।





प्रतिक्रिया राख्नुहोस्