देशको आर्थिक तथा वित्तीय सूचकहरू सन्तोषजनक

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिना (पुस मसान्तसम्म) को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार समग्र आर्थिक सूचकहरू सन्तोषजनक देखिएका छन् ।
प्रतिवेदनअनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.४२ प्रतिशतमा सीमित रहेको छ । यस अवधिमा कूल विदेशी विनिमय सञ्चिति रु ३२ खर्ब ४२ अर्ब ४५ करोड पुगेको छ । जुन अमेरिकी डलरमा २२ अर्ब १७ करोड बराबर हो । यस्तो सञ्चिति १८.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।
समीक्षा अवधिमा चालु खाता रु चार खर्ब २९ अर्ब ९१ करोड र शोधनान्तर रु पाँच खर्ब एक अर्ब २४ करोड बचतमा रहेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३९.१ प्रतिशत र अमेरिकी डलरमा ३२.३ प्रतिशतले वृद्धि भएको छ । चालु आवको पुस महिनामा मात्रै रु एक खर्ब ९२ अर्ब ६२ करोड बराबरको विप्रेषण नेपाल भित्रिएको छ ।
विदेश व्यापारतर्फ निर्यात ४३.८ प्रतिशतले वृद्धि भएको छ भने आयात १४.२ प्रतिशतले बढेको छ । यसैबीच, नेपाल सरकारको कूल खर्च रु ६९० अर्ब २२ करोड र राजस्व परिचालन रु ५७७ अर्ब ४० करोड पुगेको छ ।
मौद्रिक सूचकतर्फ विस्तृत मुद्राप्रदाय समीक्षा अवधिमा ५.४ प्रतिशतले बढेको छ भने वार्षिक विन्दुगत आधारमा १४.२ प्रतिशतको वृद्धि देखिएको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ५.७ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.६ प्रतिशतले बढेको छ । वार्षिक आधारमा निक्षेपको वृद्धिदर १४.८ प्रतिशत र कर्जाको वृद्धिदर ६.७ प्रतिशत रहेको छ ।
ब्याजदरतर्फ बैंक तथा वित्तीय संस्थाहरूबीचको भारित औसत अन्तरबैंक दर २.७५ प्रतिशत रहेको छ भने ९१ दिन अवधिको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.३५ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.५६ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ७.१२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.