निपा भाइरस नेपालमा फैलिन नदिन भारतसँगका सीमा नाकाहरूमा निगरानी बढाइँदै
काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निपा भाइरसको जनस्वास्थ्य जोखिमका सम्बन्धमा केही देशमा देखिएको घटनाप्रति सचेत रहेको उल्लेख गरेको छ ।
त्यसका लागि मन्त्रालयले आवश्यक सबै कदम चालिरहेकाले आतङ्कित नहुन र सचेत, सजग र जिम्मेवार बन्न विज्ञप्तीमार्फत सबैलाई अनुरोध गरेको छ ।
निपा भाइरस सङ्क्रमित चमेराको र्याल, पिसाब वा मलमूत्रले दूषित फलफूल सेवन गर्दा सङ्क्रमण हुनसक्ने, सङ्क्रमित व्यक्तिको रगत थुक, पिसाब वा नजिकको सम्पर्कबाट तथा चमेरोबाट सुँगुर हुँदै पनि मानिसमा यो सङ्क्रमण सर्नसक्ने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले फलफूल राम्ररी पखालेर मात्र खान, तरकारी राम्रोसँग पकाएर खान, सफा र सुरक्षित पानी उमालेर पिउन, जनावरका गोठ तथा फार्म सफा राख्न, मासु काट्दा पन्जा र मास्क प्रयोग गर्न, बेलाबेलामा साबुन पानीले हात धुने तथा भिडभाडमा जाँदा मास्क लगाउनेजस्ता जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।
शङ्कास्पद लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्था वा १११५ मा तुरुन्त सम्पर्क गर्नसमेत मन्त्रालयले सूचित गरेको छ ।।






प्रतिक्रिया राख्नुहोस्