मुस्ताङमा नेपाली सेना र सशस्त्र प्रहरीको निर्वाचन सुरक्षा बेस स्थापना

मुस्ताङ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै हिमाली जिल्ला मुस्ताङमा नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको निर्वाचन सुरक्षा बेस स्थापना गरिएको छ । निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, भयरहित शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न यहाँका तीन क्षेत्रमा निर्वाचन सुरक्षा बेस स्थापना गरिएको हो ।

बिहीबार यहाँ आयोजित जिल्ला सुरक्षा समितिसहितको सर्वदलिय बैठकमा निर्वाचन सुरक्षा व्यवस्थापनसम्बन्धी जानकारी दिइएको हो । माथिल्लो मुस्ताङको थुर्लुङ फाँटमा नेपाली सेना र चराङमा सशस्त्र प्रहरी बल नेपालको निर्वाचन सुरक्षा बेस स्थापना भइसकेको प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिनुभयो ।

यसैगरी जोमसोमस्थित इन्द्रबक्स गणमा नेपाली सेनाको निर्वाचन सुरक्षा बेस स्थापना भएको उहाँले उल्लेख गर्नुभयो । उहाँका अनुसार निर्वाचन सुरक्षाका लागि आवश्यकता परेमा म्याग्दी र मुस्ताङको सिमाना घाँसामा पनि थप निर्वाचन सुरक्षा बेस स्थापना गर्ने तयारी भइरहेको छ ।

माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङस्थित गाउँपालिकाको एक भवनमा सशस्त्र प्रहरी बल नेपालको बिहीबार निर्वाचन सुरक्षा बेस स्थापना भएको सशस्त्र प्रहरीले जनाएको छ । त्यहाँ केन्द्रबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा २४ सशस्त्र प्रहरीका निर्वाचन सुरक्षा टोली परिचालित भइसकेको सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्मले जनाएको छ ।

पैँतिस जनाको निर्वाचन सुरक्षा बेस स्थापना गर्नेगरी चराङमा सशस्त्र प्रहरी टोली खटाइएको हो । त्यसमध्ये २३ सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्मको सुरक्षा टोली पठाइएको हो भने बाँकी थप ११ जना निर्वाचन प्रहरीको तालिम प्रशिक्षण सकेपछि खटाइने जनाइएको छ । त्यहाँको निर्वाचन सुरक्षा बेसका लागि सशस्त्र प्रहरी नायब उपरीक्षक ऋषिकेश राउतले नेतृत्व गर्नुभएको छ ।

यसैगरी यहाँस्थित निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै जिल्लामा क्विक रेस्पोन्स टिम (क्युआरटी) समेत गठन भइसकेको जनाइएको छ । सरकारले घोषित निर्वाचनलाई सफल पार्न सेना परिचालन गर्ने निर्णय गरेसँगै मुस्ताङका विभिन्न स्थानमा नेपाली सेनाले दैनिक गस्ती गर्ने कार्य सुरु गरिसकेको छ । यसैगरी माथिल्लो मुस्ताङमा सशस्त्र प्रहरी बल नेपाल (बिओपी) र चराङस्थित सशस्त्र प्रहरीको निर्वाचन सुरक्षा बेसले गाउँ गाउँमा निर्वाचन सुरक्षा गस्ती गर्न सुरु गरिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.