भोजपुरको रामप्रसाद राई गाउँपालिका साकेला सिली संरक्षणमा जुट्दै

टक्सार (भोजपुर)- भोजपुरको रामप्रसादराई गाउँपालिका परम्परागत साकेला सिलीको संरक्षणमा जुटेको छ । पालिकाले साकेला सिली संरक्षणका लागि प्रशिक्षण नै दिन सुरु गरेको छ ।

रैथाने ज्ञान महोत्सव २०८२ को अवसरमा पालिकाले साकेला सिली प्रशिक्षण सुरु गरेको हो । किरात जातिको साँस्कृतिक नृत्यकारूपमा हेरिएको साकेला सिली नाचिएपनि पछिल्ला समया यसको सांस्कृतिक पक्ष बारे जानकारी हुन छाडेकोले सैद्धान्तिक र प्रयोगात्मकरूपमा सिली प्रशिक्षण गरिएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो ।

आगामी माघ २६ गतेसम्म आवाससहितको व्यवस्था गरिएको प्रशिक्षणमा अधेता शालिक सतासक राई, संरक्षक राई, अर्जुन राई र मानबहादुर राईले सहजीकरण गरि रहनुभएको छ । साकेला सिली प्रशिक्षणमा ३० जनाको सहभागिता रहेको छ । पालिकाभित्रका हरेक जातजातिका संस्कृति र रैथाने ज्ञानलाई प्रवद्र्धन गर्नु स्थानीय सरकारको दायित्व रहेकाले रैथाने ज्ञान महोत्सवको आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष वीरेन्द्र राईले जानकारी दिनुभयो । सोही अवसरमा भइरहेको साकेला सिली प्रशिक्षणले यसको संरक्षणमा थप मद्दत गर्ने उहाँले बताउनुभयो ।

यता २६ गते हुने बृहत रैथाने महोत्सवको पनि तयारी थालिएको छ । सो अन्तर्गत विभिन्न तीन शीर्षकमा प्यानल डिस्कोर्सको आयोजना गरिएको छ ।

पर्यटनमा रैथाने स्वाद र स्वामित्व विषयमा पाविहाङ राई, सचिन डाँगी, दिलकुमार खालिङ, र सम्पदा लिम्बुले बहस गर्नु हुनेछ । त्यस्तै शिक्षामा स्वदेशी सपना शीर्षकमा रजत राई, सूर्य राई, निर्माण किराती र भूमिका पाख्रीनले बहस गर्नुहुने छ । त्यस्तै लोक रिझाइको राजनीति शीर्षकमा राजन समीप, यजस्वी राई, रिझन रानामगर र प्रकाश राईले बहस गर्नु हुने आयोजकले जानकारी दिएको छ । पालिकाको आर्थिक सहयोगमा महोत्सव हुने छ ।

तेस्रो श्रृङ्खलाकारूपमा आयोजना गरिएको यस कार्यक्रममा यसभन्दा अघि खगेन्द्र सङ्ग्रोला, युग पाठक, कैलाश राई, अनुभव अजित, भोगीराज चाम्लिङ, दिपक सापकोटा, भूपाल राई, राजन मुकारुङ, कविता राई, हरि रोका, खिनु लुङ्वा, चन्द्र हतुवाली, नुनुता राई, सिता थुलुङ गणेशकुमार राई, सुदन किराती, अशोक राई, प्रेमकुमार राईलगायतले बहसमा सहभागी भइसक्नु भएको छ ।
यसअघिका वर्षमा आमचोक र गत वर्ष रामप्रसाद राई गाउँपालिकमा कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक राजन समीपले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.