कांग्रेस बदलिएको सन्देश तल्लो तहसम्म पुर्‍याउन सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश तल्लो तहसम्म पुर्याउन आह्वान गरेका छन् । कांग्रेस काठमाडौँ ५ ले आयोजना गरेको सदस्य भेलामा सभापति थापाले भदौ २३ गतेको जेन-जी आन्दोलन र २४ गतेको विध्वंशको ज्वालाबाट पाठ लिएर कांग्रेस सच्चिएको र अब देश बदल्ने अभियानमा रहेको सन्देश तल्लो तहसम्म पुर्याउन कार्यकर्ताहरुसँग आग्रह गरे ।

‘विगतमा कांग्रेसबाट रिसाएकाहरूलाई कांग्रेस बदलिएको सन्देश पुर्‍याउनुपर्नेछ,’ उनले भने । हिजो कांग्रेसलाई मत हालेका २७ लाख मतदाता माझ जानुपर्ने बताउँदै उनले अब घर घरमा गएर संवाद गर्नुपर्ने र जेन-जीका कुरा सुन्नुपर्ने उल्लेख गरे ।

सभापति थापाले जेन-जीको पूरा कुरा सुनेर अन्तिममा सडकमा तिमीले गरेको आवाज सुनेर बदलिएको एकमात्र पार्टी कांग्रेस भएको बताउन आग्रह गरे ।‘पुसको विशेष महाधिवेशनपछि सबैभन्दा नयाँ पार्टी कांग्रेस हो । यो सन्देश लिएर घर घर जानुपर्छ,’ उनले भने ।

सभापति थापाले नागरिक किन रिसाए र कहाँ कमजोरी भयो भन्ने कुराको सामना गर्नुपर्ने भन्दै त्यसकै लागि विशेष महाधिवेशन भएको र नयाँ नेतृत्व आएको बताए । “यसमा कसैले हारेको छैन, सबैले जितेका छौं, अब पक्ष विपक्षको च्याप्टर क्लोज भयो, हामी सबै एक ठाउँमा छौँ, सभापति थापाले भने ।

उनले सबै पक्षमात्र नभएर देशलाई नै मिलाएर लैजाने शक्ति कांग्रेस भएको बताए । देशमा देखिएको भागबण्डाको संस्कृति तथा भ्रष्टाचार रोक्न कांग्रेस सशक्त रूपमा उभिने दाबी गर्दै सभापति थापाले नयाँ कांग्रेसको सन्देश सामाजिक सञ्जालमार्फत समेत फैलाउन आग्रह गरे ।

प्रदीप पौडेल जिम्मेवार विद्रोही
सभापति थापाले कांग्रेस महामन्त्री प्रदीप पौडेललाई जिम्मेवार विद्रोहीको संज्ञा दिएका छन् । कार्यक्रममा उनले भदौ २३ गतेको आन्दोलनका क्रममा प्रधानमन्त्रीसँग युवा आवाज सुन्नुपर्ने भनेर क्याबिनेटमा झगडा गर्ने मान्छे प्रदीप पौडेल भएको उल्लेख गरे । ‘भदौ २३ गते म निरन्तर सम्वादमा छु’,उनले भने, ‘त्यो दिन प्रधानमन्त्रीको क्याबिनेटमा झगडा गर्ने मान्छे प्रदीप पौडेल हो ।’

भदौ २३ गते प्रधानमन्त्रीको क्याबिनेटमा झगडा गर्ने मान्छे प्रदीप पौडेल हो

उनले मन्त्रीका रूपमा सरकारमा बस्दै गर्दा आफूले शुरू गरेको स्वास्थ्य बीमामा परेका अप्ठेरा हटाउन खोज्दा सहयोग नपाउँदा छट्पटिएको देखेको बताए ।

‘प्रदीप पौडेलले मन्त्रीका रूपमा कति प्रयास गर्यो । कति सफल भयो । कतिपय नतिजा पनि आयो,’ सभापति थापाले भने,‘तर ऊ बेइमान होइन र कहिल्यै पनि इमानसँग सम्झौता गरेको छैन ।’

उनले सरकारमा रहँदा गरेका इमान्दार प्रयाससँगै कांग्रेस नयाँ बनाउने कुरामा पनि आफूसँगै रहेर महामन्त्री पौडेलले ठूलो भूमिका निर्वाह गरेको स्मरण गरे ।

समुन्नत नेपाल निर्माणका लागि संसद र सरकारमा प्रदीप पौडेलको आवश्यकता रहेकोमा समेत सभापति थापाले जोड दिए।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.