पशुलाई रोगबाट जोगाउन पूर्णखोप अभियान सञ्चालन

म्याग्दी -पशुलाई महामारीजन्य रोगबाट जोगाउनका लागि जिल्लामा पशुमा पूर्णखोप अभियान सञ्चालन भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि जिल्लाका छवटै स्थानीय तहका किसानले पालेका पशुलाई खोप लगाउने अभियान सञ्चालन गरेको हो ।

चालु आर्थिक वर्ष २०८२/८३ मा पशुमा पूर्ण खोप कार्यक्रममार्फत करिब ९० हजार गाई, भैँसी, बाख्रा, भेडा र कुकुरलाई महामारीजन्य रोगविरुद्ध पाँच प्रकारका खोप लगाउने लक्ष्य रहेको केन्द्रका प्रमुख गोपाल गिरीले जानकारी दिनुभयो ।

करिब ११ हजार घरपरिवार किसानले पालेका १४ हजार १५९ गाई, २३ हजार ३२६ भैँसी, ४७ हजार १८६ बाख्रा, १४ हजार ७९१ भेडा, एक हजार ६६८ बङ्गुर, चार हजार ८७७ कुकुर बिरालो र ३७९ चौरीलाई खोप लगाउने लक्ष्य रहेको छ ।

गाईभैँसीलाई खोरेत र लम्की स्किन, भेडाबाख्रालाई पिपिआर, कुकुर, बिरालोलाई रेबिज र बङ्गुर÷सुगुरलाई स्वाइन फिवरविरुद्धको खोप लगाइने केन्द्रका प्रमुख गिरीले बताउनुभयो । बेनी नगरपालिका, धवलागिरि, मालिका र अन्नपूर्ण गाउँपालिकामा खोप अभियान सम्पन्न भएको छ । रघुगङ्गा र मङ्गला गाउँपालिकामा सुरु भएको छ ।

किसानका पशु फार्म तथा गोठमा पुगेर पशु चौपायाको तथ्याङ्क सङ्कलन, खोपकर्ता नियुक्ति, पालिकास्तरमा जनप्रतिनिधि र अगुवा किसानलाई अभिमुखीकरण गरी खोप लगाउन प्राविधिकहरूलाई पचिालन गरिएको छ ।

पूर्ण खोप अभियानका लागि एउटा वडामा भूगोल र पशु सङ्ख्याका आधारमा दुईदेखि तीन जनाका दरले प्राविधिक र खोपकर्ता परिचालन गरिएको थियो । पशुलाई महामारीजन्य रोगबाट बचाउन खोप प्रभावकारी उपाय भएको किसानहरू बताउँछन् ।

पशुबाट मानिस र मानिसबाट पशुमा सर्ने जुनोटिक रोगलाई नियन्त्रण गरी जनस्वास्थ्यलाई पार्ने नकारात्मक प्रभावबाट बचाउन र पशुजन्य रोगको उपचार र नियन्त्रण गर्दा लाग्ने समय र खर्चको बचतका लागि पूर्णखोप कार्यक्रम प्रभावकारी बनेको बेनी नगरपालिका–३ डाडाखानीका किसान धनबहादुर श्रीसले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले सङ्क्रामक रोग निर्मूल पार्ने योजनाअनुसार प्रदेशलाई नै पूर्णखोपयुक्त बनाउन ११ जिल्लामा पशुमा पूर्णखोप अभियान चलाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.