चलचित्र ‘श्री बुकुरो’ प्रदर्शनमा

काठमाडौँ- पारिवारीक कथामा तयार भएको चलचित्र ‘श्री बुकुरो’ शुक्रबारदेखि प्रदर्शन गरिएको छ । निर्देशक सुदीप भुपाल सिंहका अनुसार ‘श्री’ शब्दले सुन्दरता, शक्ति, बुद्धि र धनको सन्तुलनलाई जनाउँछ । ‘बुकुरो’ को अर्थ हुन्छ सानो घर । यसमै आधारित रहेर चलचित्र तयार भएको छ ।
एउटी आमा र उसका तीन भाइ छोरा । दुईको विवाह भइसकेको छ भने कान्छोको विवाहको तरखर छ । विवाहकै तयारीमा हुने घटनाक्रमले निम्त्याउने परिस्थितिमा चलचित्र तयार गरिएको छ । पूर्ण पारिवारिक चलचित्रले परिवारको महत्व दर्शाउने निर्देशक सिंहले बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले परिवार एकसाथ हुन् कुनै शुभकार्य वा चाडपर्व नै हुनुपर्छ । तर, एउटी आमाको चाहना सबै परिवारसँगै रहेर खुसी र सुखी होस् भन्ने हुन्छ । मैले आमाको भावनालाई समेटेर चलचित्र तयार गरेको छु । यो हेरिरहँदा आफ्नो परिवारलाई पक्कै याद गर्नुहुनेछ ।”
उक्त चलचित्रमा आमाको भूमिकामा अभिनेत्री लक्ष्मी गिरी हुनुहुन्छ । कलाकारिता गरेको झन्डै पाँच दशकको यात्रामा अभिनेत्री गिरीले यसपटक कथालाई नेतृत्व गर्ने मौका पाउनुभएको छ । ‘श्री बुकुरो’को सबैभन्दा शक्तिशाली पात्र निर्वाह गर्ने अवसर पाएको अभिनेत्री गिरीले बताउनुभयो ।
“मलाई तपाइँ नै चलचित्रको हिरो (शिर्ष पात्र) होभन्दा कता कता डर पनि लाग्यो । किनकि मलाई लिएर यस्तो कथा अहिले कसैले सोच्छ भन्ने मैले सोच्न छाडेकी थिएँ, तर यो कथा सुनेपछि आत्म विश्वास बढ्यो । चलचित्रले परिवार जोड्ने कथा लिएर आएको छ, त्यसैले यो पारिवारिक चलचित्र हो”, अभिनेत्री गिरीले भन्नुभयो ।
परिवारको एकतामा हुने शक्ति देखाइएको उक्त चलचित्रमा घरलाई निर्जीव वस्तु नभई भावना र सम्झनाको प्रतिकको रूपमा चित्रण गरिएको उहाँले बताउनुभयो ।
“घरसँग जीवनको स्मरण जोडिएको हुन्छ, त्यसैले त्यो निर्जीव होइन । घरको महत्व र परिवारको एकताको विषयलाई केन्द्रमा राखेर तयार गरिएको कथाले दर्शकको मन छुन्छ”, अभिनेत्री गिरीले भन्नुभयो ।
चलचित्रमा अभिनेत्री गिरीसँगै आशिर्वाद क्षेत्री, निकिता आचार्य, राजन इशान, उत्तम केसी, रोशनी कार्कीलगायतका कलाकारले अभिनय गर्नुभएको छ । आधुनिक युगमा छरिएको परिवारलाई एकीकृत बनाउने आमाको प्रयासमा दर्शक ‘कनेक्ट’ हुने विश्वास अभिनेता आशिर्वाद क्षेत्रीको छ ।
“आमा, छोरा र परिवारको कथाले चलचित्र भवनमा आइपुग्नुभएका दर्शकलाई पर्दाका पात्रसँग जोड्छ भन्ने लागेको छ । यसमा मैले कान्छो छोराको भूमिका निर्वाह गरेको छु, हामी सबै कलाकारको पात्र हाम्रो घर र समाजदेखिने किसिमका छन्”, उहाँले भन्नुभयो ।






प्रतिक्रिया राख्नुहोस्