मतदाताका प्राथमिकतामा सडक निर्माण र वन्यजन्तु नियन्त्रण

ढोरपाटन (बागलुङ)- सालझण्डी-ढोरपाटन सडक स्तरोन्नति नभएको लामो समय भयो । स्तरोन्नति नहुँदा यहाँका स्थानीयले लामो समयदेखि सास्ती बेहोर्दै आएका छन् ।

यसका लागि यहाँका स्थानीयको अर्को समस्या हो, वन्यजन्तु । बँदेल र बाँदरलगायतका वन्यजन्तुका कारण स्थानीय हैरान छन् । जंगलबाट आएर बालीनाली नष्ट गरिदिने भएकाले उनीहरु यो समस्या चाँडो समाधान होस् भन्ने चाहेका छन् ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मत माग्दै घरदैलो पुग्दै गरेका उम्मेदवारसँग बागलुङ–२ का मतदाताले यिनै समस्या सुनाउने गरेका छन् ।

ढोरपाटन नगरपालिका–९ का थुमकला विकले बुर्तिबाङ बजारदेखि ढोरपाटन उपत्यका जोड्ने सडक एक दशक अगाडि निर्माण भए पनि अहिलेसम्म स्तरोन्नति नहुँदा समस्या भोग्नु परेको बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा सडक बनेपछि सुविधा होला भन्ने सोचेका थियौँ । तर सुविधाभन्दा बढी सास्ती भएको छ । चुनाव आउँदा यो सडक हामी बनाउँछौँ भोट दिनुभन्दा आउँछन् । भोट दिएर जितेपछि कोही पनि गाउँ फर्किएर आउँदैनन् । यो सडकले हामीलाई कति दुःख दिएको छ । यसको समाधान गर्न सक्ने नेतालाई यसपालीको चुनावमा भोट दिन्छौँ ।”

स्थानीय तुलबहादुर घर्ती मगरले घरै नजिकको जङ्गलबाट दैनिक बाँदर, चितुवा र बँदेल आएर बालीनालीको क्षति गरि दिने र मान्छेलाई आक्रमण गर्ने गरेको गुनासो गर्नुभयो । वन्यजन्तुबाट समस्यामा पर्दै आएका स्थानीयको समस्या बुझ्ने उम्मेदवारलाई गाउँका स्थानीयले एकै ठाउँमा भोट दिने सल्लाह गरेको सुनाउनुभयो ।

“बिहान बेलुका बाँदर, बँदले धपाउँदैमा दिन जान्छ । बारीमा लगाएको तरकारी, बालीनाली केही बाँकी राख्दैन । आइमाइ केटाकेटी एक्लै वरपर गर्न पनि गाह्रो हुन्छ”, उहाँले भन्नुभयो – “चुनावका बेला हामीलाई भोट दिनु समस्या समाधान गर्छौँ भन्ने धेरै नेता आए । तर चुनाव जितेर कहाँ गए गए ?”

निसीखोला गाउँपालिका–५ कुँडेका गङ्गाबहादुर विकले सडक व्यवस्थित नहुँदा यात्रा र सामान ढुवानी गर्न निकै कठिन हुने बताउनुभयो । अप्ठ्यारो र साँघुरो सडकका कारण बजारबाट दैनिक उपभोग्य सामान ढुवानी गर्दा महङ्गो भाडा तिर्न बाध्य भएको उहाँको भनाइ छ । यसपाली बुर्तिबाङ–ढोरपाटन र ढोरपाटन–निसेलढोर सडक स्तरोन्नतिका लागि पहल गर्ने उम्मेदवारलाई भोट दिने उहाँले सुनाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.