जुम्लाको धाैलापानीमा ईभी गाडी दुर्घटना : ७ जना घाइते, २ को अवस्था गम्भीर

जुम्ला-कर्णाली राजमार्ग अन्तर्गत तातोपानी गाउँपालिका-६ धौलापानी क्षेत्रमा आज दिउँसो ईभी गाडी दुर्घटना हुँदा चालकसहित ७ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी शालिकराम खनालका अनुसार जुम्ला बजारबाट नाग्मातर्फ जाँदै गरेको भे १ ज ८१८ नम्बरको ईभी गाडी क. प्र ०२-००१ त ०१९० नम्बरको ट्याक्टरमा ठाेकिँदा सडकबाट अन्दाजी ३०–४० मिटर तल बारीमा खसेको थियो । दुर्घटनामा चालक सहित ७ जना घाइते भएका छन् ।
घाइते सबैलाई उद्धार गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा उपचारका लागि पठाइएको सुचना अधिकारी खनालले जानकारी दिए ।
घाइते मध्ये तिला गाउँपालिका–१ बस्ने ३५ वर्षीय मेनुका बुढाको निधार र टाउकोमा गम्भीर चोट लागेको छ भने हिमा गाउँपालिका–२ का २२ वर्षीय धर्मेन्द्र रोकायाको मुखमा गम्भीर चोट लागेको बताइएको छ ।
अन्य घाइतेको अवस्था सामान्य रहेको छ ।
चालक तातोपानी गाउँपालिका–२ का १९ वर्षीय लोकेश खड्काको खुट्टा र आँखा आसपास चोट लागेको छ।
यस्तै पातारासी गाउँपालिका–४ का ३२ वर्षीय माया नेपालीको टाउकोमा भित्री चोट लागेको छ भने तातोपानी–३ लिताकोटका ४५ वर्षीय पुनी सुनारको छातीमा चोट लागेको प्रहरीले जनाएको छ ।
साथै, २० वर्षीय टेकन्द्र रावत र २० वर्षीय पारस रावत र हिमा गाउँपालिका–२ का २२ वर्षीय धर्मेन्द्र रोकाया ( निर्वाचन ड्युटीमा खटिएका निर्वाचन प्रहरी) लाई सामान्य र मध्यम प्रकृतिको चोट लागेको छ। घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी हाँकु जुम्लाबाट प्रहरी टोली खटिएको थियो ।
दुर्घटनाको कारण बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
स्थानीयवासीका अनुसार उक्त सडक खण्ड साँघुरो र धेरै घुम्ती भएकाले सवारी साधन चलाउँदा विशेष सतर्कता आवश्यक रहेको छ।।






प्रतिक्रिया राख्नुहोस्