नेपालगन्ज भन्सारः सात महिनामा लक्ष्यको ४५ प्रतिशत राजस्व सङ्कलन

राँझा (बाँके)- नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा लक्ष्यको ४५ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

चालु आव २०८२/८३ का लागि वार्षिक लक्ष्य २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार रुपैयाँ निर्धारण भएकामा माघ मसान्तसम्ममा मात्र ११ अर्ब चार करोड ६५ लाख ८५ हजार रुपैयाँ अर्थात् लक्ष्यको ४५.०१ प्रतिशत असुली भएको भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले बताउनुभयो । उहाँका अनुसार लक्ष्य पूरा गर्न बाँकी रहेका पाँच महिनामा ५५ प्रतिशत राजस्व सङ्कलन गर्नुपर्ने चुनौती छ ।

भन्सार कार्यालयको मासिक लक्ष्यअुनसार हालसम्म कुनै पनि महिनामा राजस्व सङ्लन हुनसकेको छैन । चालु आवको साउन, भदौ, असोज, कात्तिक, मङ्सिर, पुस र माघमा क्रमशः लक्ष्यको ७४, ६९, ८७, ७२, ८३, ८३ र ८८ प्रतिशतमात्र राजस्व असुली भएको छ । आव २०८१÷८२ मा नेपालगन्ज भन्सारले लक्ष्यको ७४.६४ प्रतिशत राजस्व सङ्कलन गरेको थियो भने आव २०८०÷८१ मा ६३.३५ प्रतिशत राजस्व सङ्कलन गरेको थियो ।

नेपाल–भारत सीमाको जमुनाहनाकामा एकीकृत जाँचचौकी सञ्चालनमा आएपछि आयात–निर्यात वृद्धि भई भन्सार राजस्व वृद्धि हुने अपेक्षा गरिए पनि केही वर्षयता लक्ष्य पूरा हुन नसकेको भन्सार प्रमुख पौडेको भनाइ छ । उहाँले चालु आवको सात महिनामा गत आवको सात महिनाको तुलनामा नौ करोड २४ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्लन भएको उल्लेख गर्दै लक्ष्य पूरा हुन नसके पनि राजस्व सङ्कलन वृद्धि हुने क्रममा रहेको बताउनुभयो । गत आवको सात महिनामा नेपालगन्ज नाकाबाट १० अर्ब ९५ करोड ४१ लाख ८४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

नेपालगन्ज भन्सारमा चालु आवको साउनमा एक अर्ब ८६ करोड ६५ लाख ४६ हजार रुपैयाँ लक्ष्य रहेकामा ७४.१४ प्रतिशत एक अर्ब ३८ करोड ३७ लाख ८४ हजार, भदौमा एक अर्ब ९३ लाख ६४ हजार ५४ लक्ष्य रहेकामा ६९.७७ प्रतिशत एक अर्ब ३५ करोड १० लाख नौ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

त्यसैगरी, असोजमा एक अर्ब ९८ करोड ३१ लाख ३० लक्ष्य रहेकामा एक अर्ब ७४ करोड १६ लाख पाँच हजार, कात्तिकमा दुई अर्ब १२ करोड ६१ लाख ३० हजार लक्ष्य रहेकामा एक अर्ब ५३ करोड ७० लाख ८२ हजार, मङ्सिरमा एक अर्ब ९६ करोड ३६ लाख १४ हजार लक्ष्य रहेकामा एक अर्ब ६३ करोड ८५ लाख १० हजार, पुसमा दुई अर्ब तीन करोड ४५ लाख २१ हजार लक्ष्य रहेकामा एक अर्ब ६९ करोड ४४ लाख १३ हजार र माघमा एक अर्ब करोड ६९ लाख ४० हजार लक्ष्य रहेकामा एक अर्ब ७० करोड एक लाख ८२ हजार राजस्व सङ्कलन भएको छ ।

नेपालगन्ज भन्सार कार्यालयको तथ्याङ्कअनुसार अघिल्लो आव २०८१/८२ को साउनमा लक्ष्यको ७३.६७ प्रतिशत, भदौमा लक्ष्यको ६६.६२ प्रतिशत, असोजमा ६६.९१ प्रतिशत, कात्तिकमा ७६.४४ प्रतिशत, मङ्सिरमा ७६.२७, पुसमा ७१.१५ प्रतिशत र माघमा ७५.१३ प्रतिशत राजस्व सङ्कलन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.