निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा. यादव

सप्तरी- प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले २०७३ असार २७ गते प्रमुख निर्वाचन आयुक्त पदको कार्यभार सम्हाल्नुभएको थियो । उहाँले २०६३ पुस २७ गतेदेखि २०६९ पुस २६ गतेसम्म निर्वाचन आयुक्त र २०६९ चैत १ देखि निर्वाचन आयुक्तमा पुनर्नियुक्ति भई २०७२ भदौ ११ देखि कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी सम्हाल्नुभएको थियो । प्रस्तुत छ, पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादवसँगको कुराकानी :

यही फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई यहाँले कसरी हेर्नु भएको छ ?

यही फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचन नेपालको सङ्घीय लोकतान्त्रिकको इतिहासमा पहिलोचोटी निर्वाचन हुन गइरहेको छ । यो निर्वाचन गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको उपजको रुपमा हुन गइरहेको छ । यो निर्वाचन लोकतन्त्रलाई बलियो र सुदृढीकरण गर्न तथा संस्थागत गर्नका लागि सहयोग नै पुग्दछ भन्ने मैले ठानेको छु । जेनजी आन्दोलनपछि विघटन भएको प्रतिनिधि सभाको निर्वाचन नयाँ जनआदेशबाट लोकतान्त्रिक मूल्य मान्यता र सामाजिक परिवर्तनका लागि महत्वपूर्ण मान्न सकिन्छ । यसले देशले खोजेको परिर्वतनको आवश्यकता र अपेक्षा पूरा गर्ला भन्ने आशा गरौँ ।

खासगरी यस्ता निर्वाचनमा केकस्ता कुरालाई बढी चासोका साथ हेरिन्छ ?

यो निर्वाचन प्रतिनिधिसभाको निर्वाचनमा यसमा मिश्रित निर्वाचन प्रणाली छ । यसमा समानुपातिक र प्रत्यक्षतर्फको निर्वाचन हुन गइरहेको छ । यसमा हेर्ने दृष्टिकोण फरकफरक रहेको देखिन्छ तर मूल रुपमा यो निर्वाचनले युवापुस्तालाई नेतृत्वको राजनीतिक परिर्वतन र देशको नेतृत्वका लागि स्थान प्रदान गर्छ भन्ने आम चर्चाको विषयका रुपमा लिइएको छ । राजनीतिमा नयाँ पुस्ताको भूमिका अझ बढ्ने आशाका साथ आमजनतामा नयाँ आशा पलाएको छ । यसो भन्दैमा पुराना राजनीतिक दलका नेताहरुको विगतको भूमिकालाई हामीले उपेक्षा पनि गर्न मिल्दैन ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, विश्वसनीय र भयरहित तुल्याउन कसको के कस्तो भूमिका रहन्छ ?

निर्वाचन, स्वतन्त्र, निष्पक्ष हुनुपर्दछ । निर्वाचन स्वतन्त्र मात्र हुँदैन, स्वच्छ पनि हुन आवश्यक छ । विश्वासिलो पनि हुनु पर्दछ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र बनाउनका लागि निर्वाचन आयोगको ठूलो भूमिका हुनुपर्दछ । स्वतन्त्र, स्वच्छ निर्वाचन गराउन सम्पूर्ण प्राविधिक र प्रशासनिक कार्यको जिम्मा निर्वाचन आयोगको छ । आयोगले सम्पूर्ण सामग्रीको व्यवस्थापन, राम्रोसँग गरियो भने स्वभाविक, निर्वाचन स्वतन्त्र स्वच्छ हुन्छ । यसमा निर्वाचन आयोगको मात्रै नभएर मतदाताको पनि उत्तिकै भूमिका हुन्छ । मतदाताले स्वतन्त्र, स्वच्छ रुपमा काम गर्नुपर्दछ । निर्वाचनमा बढीभन्दा बढी मतदाता सहभागी हुनुपर्दछ । यसमा राजनीतिक दलका शीर्ष नेताहरुदेखि उम्मेदवारहरुको पनि भूमिका रहन्छ । सुरक्षा निकायको पनि भूमिका महत्वपूर्ण रहेको हुन्छ । निर्वाचनमा सम्पूर्ण कार्यका लागि आवश्यकपर्ने सामग्री, सुरक्षाको प्रबन्ध, मतपत्रको ढुवानी गर्नुपर्ने हुन्छ । निर्वाचन विश्वसनीय बनाउनका लागि पर्यवेक्षकले पनि कस्तो किसिमको अनुगमन गर्दछन् भन्ने हेरिन्छ । निर्वाचनमा प्रचारप्रसारमा सबैभन्दा महत्वपूर्ण भूमिकाका लागि प्रचारप्रसार सञ्चारमाध्यमको भूमिका हुन्छ । सञ्चारकर्मील

निर्वाचन प्रचारप्रसारमा के कस्ता कुरामा राजनैतिक दल र उम्मेद्वारले ध्यान दिन आवश्यक छ ?

फागुन २१ गते भइरहेको आसन्न निर्वाचन सबै ठाउँमा एकैपटक हुन गइरहेको छ । यसमा राजनीतिक दल, तिनका उम्मेदवारले मतदाताहरुलाई मतदान कसरी गर्ने, मतदाता शिक्षाका रुपमा नमुना मतपत्रका आधारमा सिकाउनुपर्ने हुन्छ । मतदान गर्ने प्रक्रियाका बारेमा निर्वाचन आयोगले आफ्नो संयन्त्रहरु वडासम्म खटाएकै छ । घरदैलो, सभा, जुलुस गर्दा आचारसंहिताको परिधिभित्र चुनावी घोषणापत्रका आधारमा गर्नुपर्ने हुन्छ । कसैको विरोध नगर्ने र उम्मेदवारका बीचमा समन्वय हुनुपर्दछ । शान्ति सुव्यवस्था कायम गर्न यस्ता कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ ।

हरेक निर्वाचनमा औसत बदर मतको प्रतिशत उच्च रहने गरेको छ, यसलाई कम गर्न के गर्नुपर्ला ?

निर्वाचनमा मत बदर हुनुमा विभिन्न कारण जिम्मेवार हुन्छन् । हामीकहाँ मतदाता साक्षरताको स्थिति कमजोर छ । यसले गर्दा पनि मत बदर हुन्छ । मतपत्रको आकार र यसको डिजाइनले पनि मतदाता अलमलिन सक्छन् । मतपत्रमा चिह्नका कोठा र निर्वाचन चिह्नका कारण पनि मत बदर हुन्छ । उस्तैउस्तै निर्वाचन चिह्न भएमा मतदाताले झुक्किएर दुवैतिर छाप लगाउन सक्छन् । स्वस्तिक छाप र त्यसमा प्रयोग हुने मसीको गुणस्तरले पनि मत बदर हुने जोखिम हुन्छ । यसमा मतदान गर्ने कोठाको प्रकाशको अवस्थाले फरक पारेको हुनसक्छ । वृद्ध र अशक्त मतदाताले मत दिँदा पनि बदर हुने सम्भावना धेरै हुन्छ । कतिपय निर्वाचनमा बहिष्कार गर्ने दलहरूले निर्वाचनमा सहभागी हुने तर मत बदर गराउने अभियान चलाउनाले पनि बदर मतको प्रतिशत उच्च हुन सक्छ ।

निर्वाचनका निर्वाध रुपमा सम्पन्न गर्नका लागि सरकार र निर्वाचन आयोगको कस्तो भूमिका हुनु पर्दछ ?

जुनसुकै देश जुनसुकै निर्वाचन होस आखिर निर्वाचन तर लोकतान्त्रिक निर्वाचनमा भूमिका भने सरकार र निर्वाचन आयोगको हुन्छ । कतिपय देशमा निर्वाचन आयोग हुँदैन, सरकारले नै निर्वाचन गर्छ तर हाम्रो सन्दर्भमा भन्ने हो भने स्वतन्त्र निकायका रुपमा निर्वाचन आयोग छ । यहाँ निर्वाचनको मिति घोषणा गर्ने अधिकार सरकारको पनि रहेको छ । निर्वाचनमा यी दुवै संस्थाको आवश्यकता छ । निर्वाचन सम्पूर्ण व्यवस्थापन र जिम्मेवारी आयोगको हुन्छ र त्यसको वित्तीय स्रोत जुटाइदिने र सुरक्षाको प्रत्याभूति तथा आवश्यक कर्मचारीको प्रबन्ध मिलाइदिने जिम्मेवारी सरकारको हुन्छ । जेन्जी आन्दोलनपछि गठन भएको यो विशेष अवस्थाको सरकार हो, यसलाई अन्तरिम सरकार पनि भनिन्छ । निर्धारित मितिमा निर्वाचन सम्पन्न गराउन वर्तमान सरकारको भूमिका प्रशंसनीय छ । राजनीतिक दलहरु पनि निर्वाचन सम्पन्न गराउन अन्तिम तयारीमा रहेका छन् । निर्वाचन आयोगले आवश्यकपर्ने सम्पूर्ण मतपत्र, मतदान केन्द्र मतपेटीका मतदाता नामावली, मतदानका लागि जनशक्ति मतगणनाको व्यवस्थालाई अन्तिम चरणमा पु¥याएको छ ।

निर्वाचन प्रचारप्रसार र मौन अवधिबारे अझ प्रष्ट पारिदिनुस् न ?

निर्वाचनका विधि र प्रक्रियाहरु विभिन्न देशमा फरकफरक किसिमको हुन्छ । मौन अवधिका बारेमा पनि विभिन्न अभ्यासहरु रहेका छन् । हाम्रो सन्दर्भमा मतदान हुनु तीन दिनअघिदेखि खुला रुपमा प्रचारप्रसार गर्न पाइँदैन । यस अवधिमा सबै मतदाताले आफ्ना विचार र सोच निर्माण गर्न सक्दछन् । यो समय ज्यादै महत्वपूर्ण समय हो । यता यस अवधिमा निर्वाचन आयोगलाई मतदानको अन्तिम तयारी गर्न सकिन्छ ।

अन्त्यमा, मतदातालाई यहाँको केही सन्देश छ कि ?

नेपालको इतिहासमा यो निर्वाचनको ऐतिहासिक महत्व रहेको छ । लोेकतन्त्रलाई सुदृढ बनाउन र सम्पूर्ण नेपालीको सुख, समृद्धिका लागि स्थायी सरकार बनाउनका लागि मतदान गर्न सम्पूर्ण मतदातालाई आग्रह गर्न चाहन्छु । यही फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि यहाँहरुले शान्त भएर आफ्ना मताअधिकारको प्रयोग गर्नु ठूलो अधिकार हो । कसैको लोभलालच, डर धम्की र त्रासमा नपरेर स्वतन्त्र, स्वच्छ रुपमा मताधिकार प्रयोग गर्नुपर्छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.