निर्वाचन हुँदैन भन्ने हल्लाको पछि नलाग्न कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको आग्रह

काठमाडौँ- कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले केही व्यक्तिहरुले अहिले पनि फागुन २१ गते निर्वाचन हुँदैन भनी हल्ला गरिरहेकाले त्यस्ता गलत सूचनाको पछि नलाग्न सबैलाई आग्रह गर्नुभएको छ ।
गोरखपत्र संस्थानले आज आयोजना गरेको निर्वाचन प्रचारप्रसारसम्बन्धी अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहमा उहाँले केही कुण्ठित व्यक्तिहरूले अहिले पनि निर्वाचन हुँदैन भनी हल्ला गरिरहेकाले त्यस्ता गलत सूचनाको पछि नलाग्न आग्रह गर्नुभयो । उहाँले तोकिएको मिति र समयमा निर्वाचन हुनेमा ढुक्क हुन सबैमा आह्वान गर्नुभयो । सञ्चारकर्मीले निष्ठापूर्वक भूमिका निर्वाह गरिरहेकाले निर्वाचन हुने वातावरण बनेको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताउनुभयो ।
“सुशासनका लागि पनि निर्वाचन हुनुपर्छ, निर्वाचनले पाँच वर्षसम्म सुशासन कायम गर्ने अख्तियारी दिनेछ । निर्वाचन आचारसंहिता लागू भइरहेको छ, आचारसंहिता उल्लङ्घन भयो, भनी धेरै उजुरी आएका छन्, त्यसमा छानबिन गरेर निर्णयमा पुग्छौँ । सूचना सम्प्रेषण पनि आचारसंहिताभित्र बसेर गर्नुपर्छ, आचारसंहिता अनुसार मत सर्वेक्षण गर्न पाइँदैन, मत सर्वेक्षणका नाममा निर्वाचनअघि यसले जित्छ र उसले हार्छ भनेर लेख्दा जित्नेले हार्ने र हार्नेले जित्ने अवस्था आउने देखिएकाले यसो गर्नुहुँदैन”, उहाँले भन्नुभयो ।
प्रतिष्ठित व्यक्ति स्वयं संविधानको धारा १९ ले अधिकार दिएको भन्दै मत सर्वेक्षणमा लागेकाले सर्वोच्च अदालतबाट यसअघि यस्तै विषयमा भएको व्याख्या र विश्लेषण हेर्न पनि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले ध्यानाकर्षण गराउनुभयो । निर्वाचन पर्यवेक्षकले गर्ने पर्यवेक्षणका विषयमा पनि समाचार सङ्कलन गर्न उहाँले सञ्चारकर्मीलाई आह्वान गर्नुभयो ।
फागुन २१ गते हुन लागेको निर्वाचन शताब्दीकै पेचिलो भए पनि यसलाई आयोगले सहज रूपमा सम्पन्न गर्न लागेको उहाँले जानकारी दिनुभयो । चलायमान अवस्थाबाट भाँडिएको देशलाई पुनः चलायमान बनाउन पनि निर्वाचन आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।
आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले सबै नागरिक मतदानका लागि जाने र यसअघिको निर्वाचनमा भन्दा बढी प्रतिशत मतदान हुने गरी सञ्चारमाध्यमले मतदाता शिक्षा दिइरहेकाले त्यसलाई अबको एक हप्ता तीव्र बनाइनुपर्नेमा जोड दिनुभयो ।
विसं २०७९ को निर्वाचनमाभन्दा बढी प्रतिशत मतदान भयो भने सफल भएको मानिने उहाँको भनाइ छ । गोरखापत्रले ४६ भाषामा समाचार सामग्री प्रकाशन गरिरहेकाले ती सबै भाषामा निर्वाचनसम्बन्धी मतदाता शिक्षाका सामग्री राख्नुपर्नेमा पनि प्रवक्ता भट्टराईले जोड दिनुभयो ।।






प्रतिक्रिया राख्नुहोस्