मृत्यु हुनेको संख्या १९ पुग्यो, दुर्घटनामा २४ घाइते

धादिङ– पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको रात्रीबस आज बिहान करिव १ः३० बजे पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका- ५ चरौंदी नजिक त्रिशूली नदी किनारमा खस्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ । दुर्घटनामा २४ जना घाइते भएका छन । घाइतेहरुको उद्धार गरि थप उपचारका लागि काठमाडौ पठाइएको छ । मृतक दुई जनाको सनाखत भएको छ ।
मृतकहरुमा ४ जना महिला रहेका छन् । सडकबाट करिब ८० मिटर तल खसेको सो बसमा दुर्घटनाको बखत कम्तीमा ४५ जना यात्रुहरु रहेको अनुमान छ ।
हालसम्म सो दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव निकालिएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । घाइते २४ जनालाई उद्दार गरेर विभिन्न अस्पताल लगिएको उहाँले जानकारी दिनुभयो ।
मृतक तथा घाइतेको सनाखत हुन बाँकी छ । दुर्घटनाको कारण खुलेको छैन । घटनास्थलमा तीन वटै सुरक्षा निकायको समन्वयमा उद्धारको काम भइरहेको छ ।
उक्त स्थानमा उद्दारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेश आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुनिल गिरिको कमाण्डमा बिपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर सहितको टोली खटिएको उहाँले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्