वीरगन्जमा कर्फ्यु आदेश जारी
वीरगन्ज, पर्सा – हिजो साँझ सवारी पार्किङको विषयमा भएको झगडापछि उत्पन्न हुन सक्ने सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु आदेश जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्सा ले आज बिहान ९:४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लागू गरेको हो। प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम वीरगन्ज महानगरपालिकाको तोकिएको क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा–बैठक लगायतका गतिविधिमा पूर्ण रोक लगाइएको छ ।
प्रशासनका अनुसार हिजो साँझ पार्किङ व्यवस्थापनको विषयमा दुई पक्षबीच भएको विवादले झगडाको रूप लिएको थियो । सो घटनापछि बजार क्षेत्रमा तनाव बढ्ने संकेत देखिएकाले सम्भावित अप्रिय घटना रोक्न कर्फ्यु जारी गरिएको हो ।
यद्यपि, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पूर्वनिर्धारित परीक्षा दिन जाने परीक्षार्थी, पर्यटक तथा कूटनीतिक नियोगका सवारीसाधनलाई भने सुरक्षा निकायको समन्वयमा आवतजावतमा सहजीकरण गरिने प्रशासनले जनाएको छ ।
प्रशासनले सर्वसाधारणलाई अफवाहमा नलाग्न, शान्ति कायम गर्न सहयोग गर्न तथा कर्फ्यु आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ ।






प्रतिक्रिया राख्नुहोस्