वीरगञ्जमा लगाइएको कर्फ्यू हट्यो तर निषेधाज्ञा भने भोलि विहानसम्म कायमै

पर्सा- वीरगञ्ज महानगरपालिकाका केही स्थानमा स्थानीय प्रशासनले लगाएको कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरिएको छ।
शान्ति सुरक्षाको अवस्थामा सुधार हुँदै गएपछि आज विहानबाट लगाइएको कर्फ्यू हटाइएको हो । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी भोलि विहान ८ बजेसम्म सो क्षेत्रमा निषेधाज्ञा भने कायम रहने स्थानीय प्रशासनले सूचनामार्फत जानकारी दिएको छ।
यसैबीच, पर्सामा सर्वदलीय तथा सर्वपक्षीय बैठकले आइतबार वीरगञ्ज महानगर–११ स्थित श्रीपुरमा भएको घटना तथा सो घटनाबाट सिर्जित घटनाक्रमका दोषी पक्षलाई स्थानीय प्रशासनले कानुनी दायरामा ल्याउने सहमति भएको छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा आज जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले पीडित पक्षबाट जाहेरी लिई आवश्यक प्रक्रिया यथाश्रिघ सम्पन्न गर्ने र त्यस्ता दोषीलाई कानुनी दायरामा ल्याउन धार्मिक अगुवाहरुले सहजीकरण गर्ने निर्णय भएको छ ।
प्रजिअ दाहालका अनुसार बैठकले व्यक्तिगत घटना÷दुर्घटनालाई लिएर धार्मिक तथा सामाजिक सद्भाव खलल पुग्ने गरी भड्काउने÷दुष्प्रचार गर्ने, सामाजिक सञ्जालमा भाइरल बनाउने, घृणा फैलाउने भाषण प्रसारण गर्नेलाई साइबर कानुन तथा प्रचलित कानुन बमोजिम तत्काल कारबाहीको दायरामा ल्याउने निर्णय गरेको छ ।
आगामी दिनमा, धार्मिक, सामाजिक सद्भाव कायम राख्न एवं बैठकमा उपस्थिति सम्पूर्ण नागरिक समाज, राजनीतिक दल, मिडियाकर्मी, धार्मिक तथा सामाजिक एवं सम्पूर्ण जनप्रतिनिधिले आ–आफ्नो संस्था तथा निकायबाट विज्ञप्ति प्रकाशन गर्ने बैठकले निर्णय गरेको छ ।
पर्साका प्रहरी प्रमुख नरेन्द्रराज सुवेदीले दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । बैठकमा सहभागी विभिन्न पार्टीका प्रतिनिधि तथा धार्मिक क्षेत्रका अगुवाको उपस्थिति रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्