मतदान स्थलमा कर्मचारी खटाउने चरणमा छौँ: मुख्य निर्वाचन अधिकृत पाण्डे

अर्घाखाँची- निर्वाचन आयोगले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्मचारी व्यवस्थापन र सामग्री व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। मतपत्र तथा मतदान सामग्रीहरू जिल्ला-जिल्लामा पठाउन सुरु गरिएको छ। राजनीतिक दलहरू मतदाता भेटघाटका लागि घरदैलो तथा चुनावी सभामा व्यस्त छन्। जिल्लामा भइरहेको निर्वाचन तयारी, आचारसंहिताको अनुगमन, मतदाता शिक्षा र कर्मचारीहरूको खटनपटन लगायतका विषयमा नेपालटिभीअनलाइनले एउटा मात्र निर्वाचन क्षेत्र र धेरै मतदाता रहेको अर्घाखाँची जिल्लाका मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेसँग गरेको अन्तर्वार्ता:-

जिल्लामा निर्वाचन तयारी कहाँ पुग्यो? निर्वाचन व्यवस्थापनको काम कसरी भइरहेको छ?

यतिवेला हामी निर्वाचन सामग्रीको व्यवस्थापनमा सक्रिय छौँ। हाल कर्मचारी व्यवस्थापनको अन्तिम चरणमा छौँ।सबै मतदान केन्द्रमा खटिने कर्मचारीहरूको नामावली प्रकाशन गरिसकेका छौँ। मतदान केन्द्रमा खटिने कर्मचारी नियुक्तिको काम भएको छ। अब उहाँहरूलाई अभिमुखीकरण तालिमपछि सामग्रीसहित टाढा-टाढा रहेका मतदान केन्द्रमा फागुन  १६ गतेबाट खटाउने गरी काम अघि बढाएका छौँ। निर्वाचन सामग्रीहरू जिल्लामा आइसकेका छन्। तालिका अनुसार नै हाम्रो तयारी र कामहरु भइरेका छन् ।

यसपटकको निर्वाचन नियमितभन्दा पनि आकस्मिक निर्वाचनजस्तो रह्यो। निर्वाचन व्यवस्थापनमा के फरक पाउनुभयो? त्यसैले व्यवस्थापनमा कुनै असुविधा वा कठिनाइ भयो?

हो, तपाईंले भनेजस्तै निर्वाचन आकस्मिक हो। तर निर्वाचन आयोगको तालिका अनुसार अघि बढ्दा हामीलाई व्यवस्थापनमा असजिलो भएन। अघिल्ला निर्वाचनमा जस्तै गरी यस पटक पनि निर्वाचनको कार्यक्रमलाई व्यवस्थित रूपमा अघि बढायौँ र त्यसको व्यवस्थापन गर्दै आएका छौ । शन्तिपूर्व भयरहित वातावरणमा मतदान गर्ने बातावरण बनेको छ ।

सबैभन्दा धेरै मतदाता हुने निर्वाचन क्षेत्रमध्ये यो देशकै दोस्रो निर्वाचन क्षेत्र हो। जहाँ १ लाख ७१ हजार बढी मतदाता हुनुहुन्छ ।  समग्र निर्वाचन व्यवस्थापनका गतिविधि र  आचारसंहिताको पालना अनुगमनको विषय कसरी अघि बढेको छ?
हो तपाइले भने जस्तै दोस्रो धेरै मतदाता रहेको निर्वाचन क्षेत्र हो यो । मतदाता धेरै भएपनि ब्यवस्थापनमा कुनै समस्या सृजना भएको छैन ।

आचारसंहिताको कार्यान्वयनको हिसाबले यो जिल्ला अन्य जिल्लाको तुलनामा मर्यादित देखिएको छ। राजनीतिक दल र उम्मेदवारहरू स्वयं संयमित हुनुभएको छ।सामाजिक सञ्जालमार्फत हुने प्रचार–प्रसार पनि निगरानीमा राखिएको छ। कुनै उल्लंघन भए तत्काल सचेत गराउँदै आएका छौँ। राजनीतिक दलहरूले निर्वाचन कार्यालयसँग सक्रिय रूपमा समन्वय र सहयोग गरिरहेका छन्। दलका प्रतिनिधिहरू नियमित रूपमा अन्तरक्रिया तथा छलफल बैठकमा सहभागी भइरहनुभएको छ। मतदातामा पनि उत्साह देखिएको छ।

जिल्लामा मतदान स्थलमा के–कस्ता निर्वाचन चुनौतीहरू देख्नु भएको छ? सुरक्षा संवेदनशीलताका आधारमा मतदान स्थलको वर्गीकरण के कसरी भएको छ?

सुरक्षाको दृष्टिले केही मतदान केन्द्रलाई संवेदनशील र केहीलाई अतिसंवेदनशील भनेर वर्गीकरण गरिएको छ। विशेष गरी त्यस्ता स्थानहरूमा अनुभवी मतदान अधिकृत खटाइएको छ र सावधानी अपनाइएको छ। हरेक मतदान केन्द्रको सुरक्षा संवेदनशीलतालाई नजिकबाट हेरेर तयारी गरेका छौँ। हामी निष्पक्ष र तटस्थ रूपमा मतदाताको मतको सुरक्षा गर्ने प्रतिबद्ध छौँ।

निर्वाचन सुरक्षा व्यवस्थाअनुसार मतदान केन्द्रभित्र नेपाल प्रहरी खटाइनेछ भने बाहिर सशस्त्र प्रहरी र नेपाली सेनाले निगरानी गर्नेछन्।संवेदनशील मतदान केन्द्रहरूमा अतिरिक्त सुरक्षा व्यवस्था पनि मिलाइएको छ। चारै सुरक्षा निकायबीच नियमित समन्वय बैठक सञ्चालन भइरहेका छन्। समग्रमा जिल्लामा मतदाताले स्वतन्त्र र निर्भीक रूपमा आफ्नो मत प्रकट गर्न सक्ने वातावरण तयार भएको छ।

सुरक्षा संयन्त्रलाई कसरी परिचालन गरिएको छ? विगतका निर्वाचनभन्दा केही फरक व्यवस्थापन छ कि? 
सुरक्षा कर्मचारीहरूको खटाइले मतदान केन्द्रहरूमा निगरानी सुनिश्चित गरिएको छ। मतदान केन्द्रका बीचमा नेपाली सेनाको समेत सुरक्षा सेल्टर राखिएको छ। भित्र कुनै समस्या वा गडबडी भएमा सुरक्षाकर्मीहरूले तुरुन्तै व्यवस्थापन गर्छन्।आवश्यक सबै सुरक्षा र समन्वयका उपायहरू लागू गरिएका छन्। संवेदनशील मतदान केन्द्रहरू विशेष ध्यानमा राखिएका छन्, विशेष गरी भौगोलिक दृष्टिले चुनौतीपूर्ण स्थानहरूमा यो तयारी गरिएको छ।

मतदान सम्पन्न भइसकेपछि छिटो–छरितो मतगणनाका लागि के तयारी गर्नुभएको छ?

हामीले छिट्टै मतगणना सक्ने गरी त्यस किसिमको तयारी अघि बढाएका छौँ। त्यसका लागि मतपेटिका बुझ्ने प्रक्रियादेखि गणना गर्ने कर्मचारी व्यवस्थापनसम्मका विषय मिलाइएको छ। गणनास्थलको छनोट र व्यवस्थापन पनि गरिएको छ। राजनीतिक दलहरूको समन्वयमा गणनालाई छिटो गर्ने गरी धेरै टोली गठन गरेर छिटो नतिजा दिने तयारी गरेका छौँ। विगतमा जस्तो ढिलाइ नहुने गरी काम गरेका छौँ।

अन्त्यमा राजनीतिक दल र मतदाताहरूलाई के भन्नुहुन्छ?

राजनीतिक दलहरू आफ्नो मर्यादा र सीमाभित्र रहेर मतदाताको मन जित्ने गरी प्रचार–प्रसारमा सहभागी हुन आग्रह गर्दछु।कुनै पनि खेलमा खेलाडीले नियम उल्लंघन गरे दर्शकलाई पनि खल्लो लाग्छ। त्यसैले निर्वाचन प्रचार–प्रसार पनि आचारसंहितालाई राम्रोसँग पालना गरेर गर्नुपर्छ।हार–जीत जसको भए पनि लोकतान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध रहनु आवश्यक छ। आम मतदाताहरूलाई म के भन्न चाहन्छु भने सबै मतदान केन्द्रमा तीन तहको सुरक्षा व्यवस्था गरिएको छ। तपाईंहरू ढुक्क र भयरहित वातावरणमा आफूले चाहेको उम्मेदवारलाई मतदान गर्न उपस्थित हुनुहोस्। शान्ति–सुरक्षाको कुनै चिन्ता नगरी ढुक्क भएर मतदान गर्नुहोस्। आफूले रोजेको र खोजेको जनप्रतिनिधि चयन गर्नुहोस्।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.