दलीय प्रतिश्पर्धाको पहिलो अनुभव: ९ वटा दल चुनावी मैदानमा
नेपाली काँग्रेसलाई दुई तिहाई बहुमत

काठमाडौँ- नेपालमा निर्वाचनको इतिहास केलाउँदा निर्वाचन प्रक्रियाको आरम्भ सर्वप्रथम स्थानीय निकायको निर्वाचनबाट भएको पाइन्छ ।
विसं २००४ जेठ २९ गते सर्वप्रथम काठमाडौँका शहरी क्षेत्रका जनताले आफ्नो प्रतिनिधि आफैँ छान्नका लागि मताधिकार प्रयोग गरेका थिए ।
त्यो समय पहिलो पटक काठमाडौँमा मात्र निर्वाचित म्युनिसिपालिटी गठन भएको थियो। त्यो निर्वाचनलाई हालसम्मकै पहिलो र ऐतिहासिक निर्वाचनका रूपमा लिन सकिन्छ।
नेपालमा संसदीय इतिहासको कुरागर्दा २०१५ सालको निर्वाचनलाई पहिलो आम निर्वाचनका रूपमा लिने गरिन्छ।
विक्रम सम्वत् २००७ सालको सफल जनक्रान्तिपछि हुकुमी जहानियाँ राणा शासनको अन्त्य गरी प्रजातान्त्रिक शासन सञ्चालन गर्ने लक्ष्य राखेर निर्वाचित जनप्रतिनिधिद्वारा देशको मूल कानुन अर्थात् संविधान निर्माण गर्ने प्रतिबद्धता यो निर्वाचनको जग थियो ।
तत्कालीन संविधानमा दुई सदन भएको संसद रहने व्यवस्था गरिएको थियो। सोही अनुसार तल्लो सदन प्रतिनिधि सभा जनताबाट प्रत्यक्ष निर्वाचित हुने व्यवस्था अनुरुप निर्वाचन गरिएको हो । माथिल्लो सदनलाई महासभा र तल्लो सदनलाई प्रतिनिधि सभा भनिएको थियो।
तत्कालिन समयमा संविधानमा छुट्टै निर्वाचन आयोगको व्यवस्था नभए पनि निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी प्रधान निर्वाचन कमिशनर सुवर्ण शम्शेर र निर्वाचन कमिशनर प्रद्युम्न लाल राजभण्डारीलाई दिइएको थियो।
पाँच वर्षे कार्यकालको व्यवस्था गरिएको उक्त प्रतिनिधि सभाको निर्वाचन २०१५ साल फागुन ७ गतेबाट प्रारम्भ भई विभिन्न चरणमा सम्पन्न गर्दै ४५ दिनपछि चैत २८ गते सकिएको थियो। यसको अन्तिम परिणाम २०१६ साल वैशाख २८ गते घोषणा गरिएको थियो।
२०१२ फागुन २४ गतेको शाही घोषणाअनुसार २०१४ असोजदेखि महानिर्वाचन थाल्ने भनिए पनि सो समयमा निर्वाचन हुन सकेन।
पुनः २०१४ पुस १ गते शाही घोषणा गरी २०१५ फागुन ७ गतेबाट आमचुनाव आरम्भ गरिएको थियो। प्रतिनिधि सभामा १०९ सदस्य रहने व्यवस्था थियो।
उम्मेदवार हुन २५ बर्ष र मतदाता बन्न लागि २१ बर्ष पुरा हुनुपर्ने व्यवस्था
यो निर्वाचनमा उम्मेदवार हुन २५ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था थियो भने २१ वर्ष उमेर पूरा भई मतदाता नामावलीमा नाम भएका व्यक्तिले मतदान गर्न पाउने व्यवस्था थियो।
निर्वाचनमा चुनाव प्रचार–प्रसारका लागि अधिकतम खर्च सिमा ५ हजार रुपैयाँ तोकिएको थियो। मनोनयनपत्र दर्ता गर्दा २५० रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था थियो।
उक्त आम निर्वाचनमा कुल ४२ लाख ४६ हजार ४ सय ६८ मतदाता थिए। एउटा निर्वाचन क्षेत्रमा बढीमा ५४ सम्म र कम्तिमा ११ मतदान केन्द्र तोकिएका थिए।
मतगणनाको परिणाम सर्वप्रथम क्षेत्र नं. ९२ (गुल्मी मध्यपूर्व) र अन्तिममा क्षेत्र नं. ८७ (बागलुङ उत्तर) को घोषणा गरिएको थियो।
सबैभन्दा बढी मतदाता क्षेत्र नं. ७४ (जुम्ला दक्षिण – ५६ हजार ९ सय ३२) मा र सबैभन्दा कम मतदाता क्षेत्र नं. ६७ (बैतडी पूर्व–दक्षिण – २३ हजार ४ सय ६७) मा थिए। सबैभन्दा बढी मत खसेको क्षेत्र नं. १ मा २७ हजार ३ सय ९४ र सबैभन्दा कम मत खसेको क्षेत्र नं. ७६ मा ६ हजार ८७ थियो।
यस निर्वाचनमा एकभन्दा बढी निर्वाचन क्षेत्रमा उम्मेदवारी दिन पाउने व्यवस्था थियो।
कम प्रतिशत मतदान भए पनि निर्वाचनको वैधतामाथि कुनै शंका गरिएको थिएन। स्वतन्त्रता र निष्पक्षतामाथि पनि प्रश्न उठेन।
डा. केआई सिंहले प्राविधिक त्रुटि देखाउँदै रिट निवेदन दायर गरेको भएपनि अन्तत: अदालतबाट रिट खारेज भएपछि निर्वाचनको वैधता थप सुनिश्चित भएको थियो।
९ वटा राजनीतिक दलका र स्वतन्त्र गरी कुल ७ सय ७८ उम्मेदवार सहभागी
पहिलो संसदीय निर्वाचनमा ९ वटा राजनीतिक दल सहभागी भएका थिए। कम्तीमा २२ निर्वाचन क्षेत्रबाट उम्मेदवार उठाउने राजनीतिक दललाई छुट्टै निर्वाचन चिह्न दिने निर्णय गरिएको थियो। नेपाली काँग्रेसले रुख र नेपाल राष्ट्रिय काँग्रेसले ‘छाता’ चिन्हबाट निर्वाचनमा प्रतिश्पर्धा गरेको थियो ।
९ दलले पाएका निर्वाचन चिह्न
१. नेपाल कांग्रेस – रुख
२. नेपाल राष्ट्रिय कांग्रेस – छाता
३. नेपाल प्रजापरिषद् (आचार्य समूह) – धानको डाला
४. संयुक्त प्रजातान्त्रिक पार्टी नेपाल – धानको बाला
५. नेपाल प्रजातान्त्रिक महासभा – हात
६. नेपाल राष्ट्रवादी गोरखा परिषद् – खुकुरी
७. नेपाल प्रजापरिषद् (मिश्र समूह) – हलो
८. नेपाल कम्युनिष्ट पार्टी – हँसिया र हथौडा
९. तराई कांग्रेस – लगौंटी लगाएको मानिसले टाउकोमा गहुँको बिटा बोकेको
यस्तै निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूको लागि घडी, चरा , माछा, औँला , हात्ती , तराजु , घण्टा, सारंगी , धारा , घोडा, डुङ्गा र फूल गरी १२ वटा निर्वाचन चिह्न प्रदान गरिएको थियो ।
यस निर्वाचनमा कुल ७ सय ७८ उम्मेदवार प्रतिस्पर्धामा थिए, जसमध्ये ५ सय ६८ जनाको जमानत जफत भएको थियो।
निर्वाचनमा ४२ दशमलव १८५ प्रतिशत मत खसेको थियो।

१०९ निर्वाचन क्षेत्रमा सम्पन्न उक्त निर्वाचनमा नेपाली कांग्रेसले ७४ सिट जितेर दुई तिहाइ बहुमत प्राप्त गरेको थियो।
दुई क्षेत्रमा उम्मेदवार निर्वाचित भएपछि रिक्त भएको कारण ३ क्षेत्रमा उपनिर्वाचन भएको थियो। उपनिर्वाचनमा दुई क्षेत्रमा नेपाली कांग्रेस र एक क्षेत्रमा नेपाल राष्ट्रवादी गोरखा परिषद् विजयी भएको थियो।
उक्त निर्वाचनमा बी.पी. कोइरालाबाहेक सबै प्रमुख राजनीतिक दलका सभापतिहरू पराजित भएका थिए।
निर्वाचनमा सन्तनेताका रुपमा चिनिनुहुने नेपाली काँग्रेसका नेता कृष्णप्रसाद भट्टराई भने पराजित हुनुको थियो । पराजित भएपनि भट्टराई प्रतिनिधि सभाको सभामुख बन्नु भएको थियो ।
निर्वाचन परिणामबाट नेपाली कांग्रेसका सभापति विश्वेश्वरप्रसाद कोइराला (बी.पी.) प्रधानमन्त्री बन्नुभयो । उहाँले १९ सदस्यीय प्रथम निर्वाचित मन्त्रिपरिषद् गठन गर्नुभएको थियो । यो नै नेपालको पहिलो जननिर्वाचित मन्त्रिपरिषद् थियो ।।






प्रतिक्रिया राख्नुहोस्