बागलुङको कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी

गलकोट (बागलुङ)- नेपालकै पुरानो मेला मध्येको एक चैतेदसैँको तयारी थालिएको छ । कालिका मन्दिरको ऐतिहासकितासँग जोडिएको चैतेदसैँ मेलाको तयारीमा बागलुङ कालिका मन्दिर व्यवस्थापन समिति जुटेको छ ।

चैतेदसैँको अवसरमा हेरक वर्ष कालिका मन्दिर परिसरमा परम्पराकालदेखि ठूलो मेला लाग्ने गर्दछ । नेपालकै महत्वपूर्ण मेलामध्येको एक चैत्राष्टमी मेला यस वर्ष आगामी चैत १० गतेदेखि १४ गतेसम्म आयोजना गरिएको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काले जानकारी दिनुभयो ।

धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा चिनिएको बागलुङ कालिका भगवती मन्दिर परिसरमा कालिका मन्दिर स्थापनापछि मेला लाग्दै आएको छ । कालिका मन्दिर स्थापनाको डेढ/दुईसय वर्षपछि मेला आयोजना गरिँदै आएको छ । तीन सय वर्षभन्दा पुरानो बागलुङको चैते दसैँ मेलालाई परम्पराको निरन्तरता दिन गरिँदै आएको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

चैतेदसैँ मेलामा कालिका मन्दिर परिसरमा हजारौँ दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ । मन्दिर परिसरमा स्थानीय तथा आयातित वस्तुको खरिद बिक्रीका लागि स्टलहरु राखिनेछ भने लोक दोहोरी गीत, भलिबललगायत विभिन्न सांस्कृतिक झाकीसमेत प्रदर्शन गरिने छ ।

“विसं १५९१ मा पर्वते राजा प्रतापी नारायण सिंह मल्लले पाल्पाका राजा मनिमुकुन्द सेनकी छोरीसँग विवाह गरेको र राजकुमारीले आफूसँगै दाइजोको रुपमा ल्याएकी माझकी देवीको मूर्तिलाई अहिलेको कालिका मन्दिर भएको ठाउँमा बिसाइयो”, अध्यक्ष खड्काले भन्नुभयो, “भोलिपल्टपछि मूर्तिसहितको डोली उठाउन खोज्दा डेग नचलेपछि उक्त ठाउँमा मन्दिर स्थापना भयो, चैतेदसैँमा मन्दिरमा आउने भक्तजनहरुले स्थानीय उत्पादनको खरिद बिक्री गर्ने चलन बढ्दै गयो र चैतेदसैँको मेलाका रुपमा अहिलेसम्म निरन्तरता छ ।”

बागलुङ कालिका भगवती मन्दिरमा पूजाअर्चना गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास रही आएको छ । त्यही विश्वासका आधारमा यहाँ हजारौँ खसी बोका, राँगा तथा हाँस कुखुराको बलि दिने गरिन्छ । मेलामा करोडौँ रुपैयाँको कारोबार हुन्छ । पहिला पहिला चैते दसैँलाई वर्षभरि रकम जम्मा गरेर घरायसी सामग्री खरिद गर्ने प्रचलन रहेको छ । पहिला डाली, नाङ्ला, ठेका ठेकी, आसी र बाउसा खरिद गर्ने काम चैतेदसैँमा हुँदै आएको थियो ।

चैतेदसैँ मेलामा तीन लाख रुपैयाँ पुरस्कार राशिको कालिका कप खुला पुरुष भलिबल प्रतियोगिता, रु एक लाख पुरस्कार राशिको खुला महिला भलिबल प्रतियोगिता, दुई लाख रुपैयाँ पुरस्कार राशिको राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगिता, छेलो फाल्ने प्रतियोगिता, रथ यात्रा र रमाइलो मेलालगायतका कार्यक्रम गरिने भएका छन् । कालिका भगवती मन्दिर तथा परम्परागत चैत्राष्टमी मेलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा चिनाउन, बागलुङ जिल्लाको ऐतिहासिक धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदा र स्थानीय उत्पादनको संरक्षण र प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.