प्रजातन्त्र पुनर्स्थापनापछिको पहिलो निर्वाचन: नेपाली काँग्रेसको एकल बहुमत

काठमाडौँ- नेपालको बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछि नेपालको संविधान-२०४७ अनुसार २०५ निर्वाचन क्षेत्रमा प्रतिनिधि सभाको निर्वाचन एकै चरणमा २०४८ साल बैशाख २९ गते सम्पन्न भएको थियो।
निर्वाचनको मिति भने संविधान जारी भएको तीन महिनापछि २०४७ साल माघ २७ गते नै घोषणा गरिएको थियो।
प्रतिनिधि सभाका २०५ पदका लागि भएको निर्वाचनमा पूर्वाञ्चलका १६ जिल्लाबाट ४९, मध्यमाञ्चलका १९ जिल्लाबाट ६५, पश्चिमाञ्चलका १६ जिल्लाबाट ४२, मध्यपश्चिमाञ्चलका १५ जिल्लाबाट ३० र सुदूरपश्चिमाञ्चलका ९ जिल्लाबाट १९ जना निर्वाचित हुने व्यवस्था गरिएको थियो।
यो निर्वाचन नेपालको संसदीय इतिहासमा दोस्रो तथा बहुदलीय प्रजातन्त्रको पुनःस्थापनापछिको पहिलो निर्वाचन थियो। स्वतन्त्र संवैधानिक अङ्गका रूपमा व्यवस्थित निर्वाचन आयोगद्वारा सम्पन्न गरिएको यो नै पहिलो आम निर्वाचन थियो।
आम निर्वाचन २०४८ मा ७,३९१ मतदान केन्द्र र ६,६३० मतदान उपकेन्द्र कायम गरिएको थियो। निर्वाचनमा १ करोड ११ लाख ९१ हजार ७ सय ७७ मतदाता कायम गरिएको थियो। कुल ७२ लाख ९१ हजार ०८४ जनाले मतदानमा सहभागिता जनाएका थिए।
निर्वाचनमा ६५ प्रतिशत मत खसेको थियो। कुल खसेको मतमध्ये ९५ प्रतिशत अर्थात् ६९ लाख ६९ हजार ०६१ मत सदर भएको थियो।
निर्वाचन चिह्न वितरण व्यवस्था
नेपाल अधिराज्यको संविधान, २०४७ बमोजिम प्रथम पटक सम्पन्न संसदीय निर्वाचन २०४८ मा निर्वाचन प्रयोजनका लागि आयोगमा दल दर्ता भएको क्रमअनुसार राजनीतिक दल तथा स्वतन्त्र रूपमा उम्मेदवारी दिने व्यक्तिहरूलाई निर्वाचन चिह्न वितरण गर्ने स्पष्ट व्यवस्था गरिएको थियो।
निर्वाचन अधिकृतले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेपछि एकभन्दा बढी उम्मेदवार कायम रहेको अवस्थामा तोकिए बमोजिम निर्वाचन चिह्न वितरण गर्ने व्यवस्था थियो।
२०४८ सालको पहिलो आम निर्वाचनमा संविधानअनुसार मान्यताप्राप्त दलहरू स्थापित भइसकेका थिएनन्, त्यसैले त्यस्ता दलहरूको निर्वाचन चिह्न संरक्षित गरिएको थिएन।
मतदातालाई दोहोरो मतदान गर्न नदिन बायाँ हातको बूढीऔँलाको नङ र मासुको जोर्नीमा नउड्ने नीलो मसी लगाइदिने व्यवस्था यसै निर्वाचनबाट सुरु गरिएको हो। उक्त मसी छिमेकी मित्रराष्ट्र भारतबाट आयात गरिएको थियो। यसको प्रयोग हालसम्म निरन्तर जारी छ।
राजनीतिक दलहरूको सहभागिता
२०४८ सालको निर्वाचनमा २० राजनीतिक दलहरूले सहभागिता जनाएका थिए। उक्त निर्वाचनबाट ५ राजनीतिक दलले मात्र राष्ट्रिय मान्यता प्राप्त गरेका थिए। प्रतिनिधि सभामा भने ८ दलले प्रतिनिधित्व गरेका थिए।
दलगत स्वतन्त्र रूपमा विजयी स्थान सङ्ख्या
– नेपाली काङ्ग्रेस – ११०
– नेपाल कम्युनिष्ट पार्टी (एमाले) – ६९
– संयुक्त जनमोर्चा – ९
– नेपाल सद्भावना पार्टी – ६
– राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) – ३
– नेपाल मजदुर किसान पार्टी – २
– नेपाल कम्युनिष्ट पार्टी (प्र.) – २
– राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा) – १
– स्वतन्त्र – ३
निर्वाचनमा कुल १,३४५ उम्मेदवार सहभागी भएका थिए। तीमध्ये ७५१ जनाको जमानत जफत भएको थियो। स्वतन्त्र उम्मेदवारको संख्या २१९ थियो।
निर्वाचनमा १,२६४ पुरुष र ८१ महिला उम्मेदवार थिए। तीमध्ये ७३ जना महिला उम्मेदवार राजनीतिक दलबाट र ८ जना स्वतन्त्र थिए। कुल ७ जना महिला उम्मेदवार विजयी भएका थिए।
विभिन्न कारणले ५१ मतदान केन्द्रमा पुनः निर्वाचन गरिएको थियो।
निर्वाचन आचारसंहिता
वि.सं. २०४६ सालमा बहुदलीय प्रजातन्त्रको पुनर्स्थापनापछि सम्पन्न पहिलो आम निर्वाचनका लागि निर्वाचन आयोग र राजनीतिक दलहरूको सहमतिमा आचारसंहिता लागू गरिएको थियो।
यसमा नेपालको राष्ट्रिय स्वतन्त्रता, अखण्डता र सार्वभौमसत्तामा आँच नआउने गरी निर्वाचन सञ्चालन गर्ने, संविधानले प्रदान गरेका मौलिक अधिकारको संरक्षण गर्ने तथा जात, जाति, धर्म, समुदाय वा सम्प्रदायका आधारमा घृणा र वैमनस्य फैलाउन नपाइने व्यवस्था उल्लेख गरिएको थियो।
सरकार गठन
निर्वाचन परिणामपछि नेपाली काँग्रेस संसदीय दलका नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार गठन गरिएको थियो।
प्रतिनिधि सभाको पहिलो बैठक जेठ २०४८ मा बसेको थियो र दमननाथ ढुंगाना सभामुख बन्नुभएको थियो ।
पछि आफ्नै दलका केही सदस्यहरूले अविश्वास प्रस्तावमा मतदान गरेपछि २०५१ साउनमा राजा समक्ष संसद् विघटनको सिफारिस गरिएको थियो।
त्यतिबेला प्रमुख प्रतिपक्ष दलका नेता मनमोहन अधिकारी हुनुहुन्थ्यो ।।






प्रतिक्रिया राख्नुहोस्