नयाँपुस्ताका मतदाता भन्दछन् : ‘जनताको समस्या बुझ्ने नेतृत्व आवश्यक’

मध्यविन्दु (नवलपरासी)- आगामी फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा युवा मतदातामा उत्साह र जिज्ञासा एकैसाथ देखिएको छ । नयाँ पुस्ता यसपटक आफ्नो मताधिकार प्रयोग गर्दै लोकतान्त्रिक प्रक्रियामा प्रत्यक्ष सहभागी हुने तयारीमा जुटेका हुन् ।

यसअघि निर्वाचनलाई परिवारका अग्रजले गर्ने कार्यका रूपमा हेर्दै आएका यी युवाहरू अहिले भने स्वयं निर्णयकर्ता बन्ने चरणमा पुगेका छन् । सामाजिक सञ्जाल, बहस, छलफल र विद्यालय–क्याम्पसस्तरीय संवादमार्फत उनीहरू निर्वाचन, संविधान, शासन प्रणाली र नागरिक दायित्वबारे बुझ्न खोजिरहेका छन् ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)का नयाँ मतदाताहरूले आफ्नो पहिलो मत ‘व्यक्तिगत स्वार्थ’भन्दा पनि ‘भविष्य निर्माण’का आधारमा प्रयोग गर्ने बताएका छन् । उनीहरूका प्राथमिकतामा गुणस्तरीय शिक्षा, रोजगारी सृजना, पारदर्शी शासन व्यवस्था र जनताको समस्या बुझ्ने नेतृत्व छन् ।

विनयी त्रिवेणी गाउँपालिका–१ बगुवनका पवन ढेगामगर पहिलोपटक मतदान गर्न पाउँदा उत्साहित भएको बताउनुभयो । दुर्गम गाउँमा पर्ने बगुवन गाउँको समस्या समाधानका लागि ठोस पहल गर्ने उम्मेदवारलाई चयन गर्ने सोचमा रहेको उहाँले बताउनुभयो ।

“अहिलेसम्म मतदान गरिएको थिएन, त्यसैले पहिलाको निर्वाचनमा खास चासो पनि राखिँदैन थियो”, उहाँले भन्नुभयो, “यसपालि आफैँले मतदान गर्न पाउने भएकाले धेरै कुराहरूमा चासो हुने र विषयहरू बुझ्न मन लाग्ने भएको छ ।”

जिल्लामा विभिन्न नागरिक संस्थाहरूले पनि पहिलो मतदातालाई लक्ष्य गरी मतदाता शिक्षा, सचेतना कार्यक्रम र संवाद आयोजना गरिरहेका छन् । यस्ता कार्यक्रमले युवामा मतदानप्रति आत्मविश्वास बढाएको सहभागीहरूको भनाइ छ ।

पहिलोपटक मतदान गर्न लागेकी कावासोती नगरपालिका–२ की १९ वर्षीया एञ्जल भुसालले भन्नुभयो, “हामी अब दर्शकमात्र होइनौँ, निर्णय प्रक्रियाका सहभागी हौँ । हाम्रो मतले हाम्रो भविष्य निर्धारण गर्छ भन्ने चेतना आएको छ ।”

बुलिङटार गाउँपालिका–३ का अर्का युवा सुमन थापाले भन्नुभयो, “हामीलाई भाषणभन्दा काम चाहिएको छ । युवालाई स्वदेशमै अवसर दिने नीति ल्याउने उम्मेदवारलाई रोज्ने सोचमा छौँ ।”

पहिलो मतदानलाई जीवनको महत्त्वपूर्ण अनुभवका रूपमा लिँदै युवाहरू मतदान दिनलाई ‘उत्सव’जस्तै मानिरहेको देखिन्छ । कतिपय युवाहरूले सामाजिक सञ्जालमा पनि जिम्मेवार मतदानको सन्देश फैलाइरहेका छन्, ‘सोचेर मत हालौँ, भविष्य बनाऔँ’ भन्ने नारासहित । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा पहिलोपटक मतदान गर्न लागेका युवाहरू फागुन २१ गतेको निर्वाचनलाई लिएर उत्साहित भएको देखिन्छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा नौ हजार २३७ नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख लालप्रसाद शर्मा भुसालले बताउनुभयो । उहाँका अनुसार जिल्ला निर्वाचन कार्यालयबाट सिधैँ नाम दर्ता गराउने मतदाता तीन हजार १५३ र राष्ट्रिय परिचयपत्र प्रयोग गरी नाम दर्ता गराउनेको सङ्ख्या छ हजार ८४ छन् । दुईवटा निर्वाचन क्षेत्र रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा कुल दुई लाख ६८ हजार ५२६ मतदाता छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.