विगतमा झैँ संयुक्त टोलीले सुरक्षा प्रदान गरी मतपेटिकालाई गणनास्थलसम्म पुर्‍याइनेछ: नेपाली सेना

काठमाडौँ– नेपाली सेनाले विसं २०४८को प्रतिनिधिसभा निर्वाचनदेखिका सबै निर्वाचनमा नेपाली सेना परिचालन भई मतपत्र छपाइस्थलको सुरक्षा, मतपत्र ढुवानी र मतपेटिकालाई मतगणना स्थलसम्म पुर्‍याउने जिम्मेवारी निर्वाह गर्दै आएको स्पष्ट गरेको छ ।
जनसम्पर्क तथा सूचना निर्देशनालयले आज विज्ञप्ति जारी गरेर काठमाडौँबाट देशका सबै जिल्लास्थित निर्वाचन कार्यालयसम्म मतपत्र ढुवानी, निर्वाचनको दौरान तेस्रो घेरामा रही सुरक्षा प्रदान गर्नुका साथै निर्वाचन सम्पन्न भएपछि संयुक्त टोलीले सुरक्षा प्रदान गरी मतपेटिकालाई मतगणना स्थलसम्म पुर्‍याउने जिम्मेवारी निर्वाह हुँदै आएको जनाएको हो ।
विगतका निर्वाचनहरूमा जस्तै यस पटक पनि निर्वाचनको क्रममा मतदान सम्पन्न भएपछि स्थापित ‘प्रोटोकल’ अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, निर्वाचन अधिकृत, दलका तोकिएका प्रतिनिधि एवं नेपाली सेनासहितको एकीकृत टोलीले मतदान स्थलबाट मतपेटिका ढुवानी गर्ने कार्य हुने विज्ञप्तिमा जनाइएको छ ।
नेपाली सेना एकीकृत सुरक्षा योजनाअनुसार सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरी आसन्न निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गराउन प्रतिबद्ध रहेको विज्ञप्तिमा जनाइएको छ । निर्वाचन सुरक्षा व्यवस्थाका सबै कार्य ‘प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४’ तथा ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ अनुसार सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.