मतदान सामग्री सहित टाढाका मतदान स्थलमा खटाइयो कर्मचारी

अर्घाखाँची–  फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि अर्घाखाँचीमा मतदान अधिकृतहरूले सोमबार बिहानैदेखि मतदान सामग्री बुझ्न थालेका छन्।

जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीबाट मतदान अधिकृत तथा कर्मचारीहरूले मतपत्र, मतपेटिका, छाप, मतदाता नामावली, फारामलगायत आवश्यक सामग्री बुझेर आ–आफ्नो मतदान केन्द्रतर्फ प्रस्थान गर्न थालेको कार्यालयका कर्मचारी कृष्ण बर्माले जानकारी दिनुभयो।

निर्वाचन निर्धारित मितिमा शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन आवश्यक सबै तयारी पूरा भएको अर्घाखाँचीका मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले बताउनुभयो। सुरक्षा व्यवस्था कडा पारिएको छ भने मतदान अधिकृत तथा सुरक्षाकर्मीलाई आवश्यक निर्देशनसमेत दिइएको उहाँको भनाइ छ।

निर्वाचन प्रक्रियालाई प्रभावकारी बनाउन सम्बन्धित निकायबीच समन्वय भइरहेको र मतदातालाई सहज वातावरणमा मतदान गर्ने व्यवस्था मिलाइएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जानकारी दिनुभयो।

अर्घाखाँचीमा कुल १ लाख ७१ हजार ६ सय ५२ जना मतदाता रहेका छन्। जिल्लामा १०२ वटा मतदानस्थल र २०९ वटा मतदान केन्द्र निर्धारण गरिएको छ। निर्वाचन सम्पन्न गराउन जिल्लाभर १ हजार २ सय ५९ जना कर्मचारी खटिएका छन्। निर्वाचनको अन्तिम तयारीसँगै जिल्लामा चुनावी माहोल थप तातेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.