मतदान सफलतापूर्वक सम्पन्न भएकामा गृहमन्त्रीद्वारा धन्यवाद

काठमाडौँ– गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएकामा सबैलाई धन्यवाद दिनुभएको छ ।
गृहमन्त्री अर्यालले राष्ट्रपतिको निर्देशन र प्रधानमन्त्रीको नेतृत्वमा सम्बद्ध सबै पक्षको सहयोगका कारण मुलुकभर एकै चरणमा मतदान कार्य सम्पन्न भएको भन्दै प्रधानमन्त्रीको अभिलाषाबमोजिम ‘एक थोपा पनि रगत नबगी’ निर्वाचन गर्ने कार्य सम्पन्न भएको उल्लेख गर्नुभएको छ ।
लोकतान्त्रिक प्रक्रियाको महत्वपूर्ण अभ्यासका रूपमा रहेको निर्वाचनमार्फत जनादेश लिनु संवैधानिक र कानुनी दृष्टिले सर्वोत्तम पक्ष हो भन्दै गृहमन्त्री अर्यालले यस निर्वाचनका माध्यमबाट संविधान कार्यान्वयन एवं नेपाली जनताले प्राप्त गरेको हकअधिकारको संस्थागत गर्नमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभयो ।
मन्त्री अर्यालले निर्वाचन प्रक्रियामा संलग्न आम नेपाली नागरिक, सम्पूर्ण मतदाता, उम्मेदवार, राजनीतिक दलका नेता तथा कार्यकर्ता, निर्वाचनमा संलग्न निजामती कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी, राष्ट्रिय अन्तरराष्ट्रिय पर्यवेक्षक र प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा सहयोग एवं योगदान गर्नुहुने सबैप्रति हार्दिक आभार प्रकट गर्नुभएको छ । उहाँले निर्वाचनको मतदानपश्चात् मतगणनाको कार्यमा सकारात्मक भूमिका र सहयोगका निमित्त सम्बन्धित सबैमा अनुरोध गर्नुभएको छ ।
गृहमन्त्री अर्यालले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र मर्यादित वातावरणमा सफलतापूर्वक सम्पन्न गर्न देशव्यापी रूपमा मतदाताहरूले प्रकट गरेको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको निष्ठा र अटल प्रतिबद्धता अभिव्यक्त भएको भन्दै मतदानमा सहभागी भएर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्नुहुने सम्पूर्ण आमाबुवा, दिदी–बहिनी, दाजुभाइहरूप्रति उच्च सम्मानसहित धन्यवाद व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.