चितवन-२ बाट रास्वपाका सभापति रवि लामिछाने विजयी

चितवन-चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी हुनुभएको छ । उहाँले ५४ हजार ४०२ मत प्राप्त गर्नुभयो । नेपाली कांग्रेसकी उम्मेदवार मीनाकुमारी खरेलले १४ हजार ५६४ मत प्राप्त गर्नुभएको छ ।
लामिछानेले यसअघि विसं २०८० मा भएको उपनिर्वाचनमा ५४ हजार १७६ मत प्राप्त गर्नुभएको थियो ।
यस्तै सो समयमा नेपाली कांग्रेसका उम्मेदवारले ११ हजार २१४ मत र एमालेका उम्मेदवारले १० हजार ९३६ मत प्राप्त गर्नुभएको थियो ।
५० बर्षीय लामिछाने पछिल्लो नयाँ पुस्ताको नेतृत्व गर्दै राजनीतिमा होमिनुभएको थियो । लामो समय सञ्चारकर्मीको रुपमा काम गरिसकेपछि अघिल्लो प्रतिनिधि सभाको निर्वाचनमा उहाँ पहिलो पटक चितवन-२ बाटै निर्वाचित हुनुभएको थियो ।
तर उहाँको कानूनी रुपमा सांसद पद खारेज भएपछि पुन: चितवनमा उपनिर्वाचन भयो र लामिछाने फेरि उमेदवार बन्नुभयो ।
उपनिर्वाचनमा पनि भारी मतसहित निर्वाचित लामिछाने सहकारी प्रकरणमा मुद्दा परेपछि सांसदबाट निलम्बित हुनुभएको थियो । अहिले पनि उहाँका मुद्दाहरु विचाराधीन छन ।
रास्वपाका संस्थापक सभापति लामिछाने पछिल्लो जेनजी आन्दोलनपछि नयाँ रणनीतिका साथ निर्वाचनमा होमिनुभएको थियो । उहाँले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई पार्टीको भावी प्रधानमन्त्रीको रुपमा अघि सारेर देशभर पार्टीको पक्षमा उभार श्रृजना गराउनुभएको थियो ।
अहिले सभापति लामिछानेकै नेतृत्वमा रास्वपाले देशभर विजयी सुरुवात गरेको छ। अब रास्वपाकै नेतृत्वमा नयाँ सरकार बन्ने निश्चितप्राय: भएको छ ।।





प्रतिक्रिया राख्नुहोस्