मकवानपुर-२ मा रास्वपाका उप्रेती विजयी

मकवानपुर– कम्युनिष्ट पार्टीको गढ मानिने मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ मा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रशान्त उप्रेती विजयी हुनुभएको छ । उप्रेतीले ३० हजार ५० मत प्राप्त गर्नुभयो । उहाँले ११ हजार २ सय ४ मतान्तरले विजय हासिल गर्नुभएको हो ।
आज बिहान सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका महेश वर्तौलाले १८ हजार ८ सय ४६ मत प्राप्त गर्नुभयो । नेपाली काँग्रेस का बुद्ध लामा ले १५ हजार ५६ मत प्राप्त गर्दा नेपाल कम्युनिष्ट पार्टी का लवशेर विष्ट ले १२ हजार ४ सय ९२ मत प्राप्त गर्नुभएको छ ।
६२ वडा रहेको यस क्षेत्रमा कुल ९१ हजार २ सय ४१ मत खसेको थियो । २०४६ सालको जनआन्दोलनपछि २०४८ सालदेखि यस क्षेत्रमा भएका निर्वाचनहरूमा कम्युनिस्ट उम्मेदवारहरू नै लगातार विजयी हुँदै आएका थिए। २०४८, २०५१ र २०५६ सालको निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवारहरू विजयी भएका थिए ।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा (माओवादी) का उम्मेदवार विजयी भएका थिए भने २०७० सालको संविधानसभा निर्वाचनमा पुनः एमालेकै उम्मेदवार विजयी भएका थिए । संघीयता कार्यान्वयनपछि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि एमालेकै उम्मेदवार विजयी भएका थिए। त्यसैगरी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) का महेश वर्तौला विजयी हुनुभएको थियो ।





प्रतिक्रिया राख्नुहोस्