सर्लाही-२ बाट रास्वपाका रबिन महतो विजयी

काठमाडौँ- प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सर्लाही-२ बाट रबिन महतो विजयी हुनुभएको छ। उहाँले ४२५१२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपाका महिन्द्र राय यादवले ८५२३ मत प्राप्त गर्नुभएको छ।
सर्लाहीको कविलासी नगरपालिकामा जन्मिनु भएका रबिन महतो समाजिक गतिविधिमा सक्रिय युवा नेतृत्वकर्ताका रूपमा चिनिनुहुन्छ। विक्रम संवत् २०४४ साल माघ २० गते जन्मिनु भएका महतोले स्नातक तहसम्म अध्ययन गर्नुभएको छ।
स्वास्थ्य क्षेत्रमा सक्रिय रहँदै उहाँले समुदायस्तरमा विभिन्न स्वास्थ्य शिविरहरू सञ्चालन तथा समन्वय गर्दै प्रत्यक्ष जनसेवामा योगदान पुर्याउँदै आउनु भएको छ।
महतो राजनीतिकभन्दा अघि समुदायमा देखिने काममार्फत पहिचान बनाउने, सामाजिक गतिविधिमा निरन्तर सहभागिता र भरोसामा आधारित नेतृत्वका रूपमा चिनिनुहुन्छ।
जिल्लामा स्वास्थ्य शिविर सञ्चालनमार्फत उहाँले टिम परिचालन, स्रोत व्यवस्थापन, स्थानीय निकाय तथा स्वास्थ्यकर्मीसँग समन्वय गर्दै कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने नेतृत्व क्षमता पनि देखाउनुभएको छ।
प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण, औषधि उपलब्धता, रेफरल तथा एम्बुलेन्स प्रणाली सुदृढ बनाउने र विपन्न वर्गका नागरिकका लागि उपचार पहुँच सुनिश्चित गर्ने विषयलाई उहाँले आफनो प्राथमिकता राख्दै आउनु भएको छ ।।






प्रतिक्रिया राख्नुहोस्