बिमाका बिरामीलाई अस्पताल बाहिर औषधि खरिद नगराउन बिमा बोर्डको निर्देशन

काठमाडौँ- स्वास्थ्य बिमा बोर्डले उपचार गराउन आएका बीमितलाई अस्पताल बाहिर औषधि खरिद नगराउन सबै अस्पताल (स्वास्थ्य संस्था)लाई निर्देशन गरेको छ ।

बोर्डका सूचना अधिकारी विकेश मल्लले सबै अस्पताललाई परिपत्र जारी गर्दै बीमितलाई बाहिर औषधि पसलमा औषधि तथा औषधिजन्य सामग्री खरिद नगराउन निर्देशन दिएको जानकारी दिनुभयो । बीमितसँग केही स्वास्थ्य संस्थाले प्याकेजमा गरिने उपचारमा औषधि बाहिर खरिद गराउने पाइएकोले त्यस्ता नगर्न-नगराउन सबै अस्पताललाई परिपत्र गरिएको उहाँले बताउनुभयो ।

केही अस्पतालले बीमितलाई उपचार गरेसँगै बाहिर औषधि खरिद गर्न लगाएको गुनासो आएकोले त्यसरी बीमितलाई बाहिर औषधि खरिद नगर्न नगराउन निर्देशन दिँदै अस्पताललाई परिपत्र गरिएको हो ।

अस्पतालले बीमितसँग बिमा सेवका विभिन्न प्याकेजभित्र समावेश हुने औषधि तथा औषधिजन्य सामग्री सोही अस्पताल तथा बाहिरका औषधि पसलबाट नगदमा खरिद गर्न लगाउने गरेका छन् ।

बिरामीलाई बाहिरका औषधि पसलबाट औषधि खरिद गर्न लगाउने अस्पताललाई स्वास्थ्य बिमा ऐन २०७५, स्वास्थ्य बिमा नियमावली २०७५ तथा प्रचलित निर्देशिका र कार्यविधि विपरीत रहेको भन्दै त्यस्ता अस्पताललाई स्वास्थ्य बिमा नियमावली २०७५को नियम १८ को उपनियम (१) को खण्ड (क) बमोजिम कारबाही गरिने बोर्डले जनाएको छ ।

स्वास्थ्य बिमा कार्यक्रममा अन्तर्गत पाँचजना परिवारसम्मका लागि रु तीन हजार ५०० बराबरको योगदानको आधारमा रु एक लाख सम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइन्छ । यस्तै थप प्रति सदस्य ७०० का दरले योगदान रकम थपिँदै जाने र प्रति सदस्य २० हजार बराबरको सेवा सुविधा थपिने प्रावधान रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.