गएरातिको वर्षासँगै काठमाडौँ लगायतका शहरहरुमा वायु प्रदूषण घट्दै

काठमाडौँ- केही दिनयता काठमाडौँ उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण घट्न थालेको छ । बिहीबार मध्याह्नसम्म प्रदूषण वायु गुणस्तर सूचकाङ्क १७८ हाराहारीमा रहेकामा आज मध्याह्नसम्म वायु गुणस्तर सूचकाङ्क १४९ कायम भएको एयर क्वालिटी इन्डेक्स (एक्युआइ) को तथ्याङ्कले देखाएको छ ।

बिहीबार मध्याह्नसम्म काठमाडौँ विश्वकै दोस्रो प्रदूषित सहरका रूपमा सूचीकृत भएकामा आज सोही समयमा बाह्रौँ स्थानमा झरेको छ । केही दिनयता मौसम धुम्मिँदै जाँदा वायु प्रदूषण बढेको थियो ।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले बिहीबार भएको वर्षाका कारण आज वायु प्रदूषण पनि कम भएको जानकारी दिनुभयो ।

“वर्षाले हावामा रहेको धुलो तथा कणलाई जमिनमा झार्न मद्दत गर्ने र हावाले धुलो तथा प्रदूषणका कण उठाएर लैजाँदा प्रदूषण कम हुन्छ”, उहाँले भन्नुभयो, “दिगो तथा वातावरणमैत्री विकासका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई सुझाव दिएका छौँ ।”

वातावरणविद् भुषण तुलाधरले समयमै पूर्वतयारी, पातपतिङ्गर व्यवस्थापन, डढेलो नियन्त्रण तथा सवारीसाधनको धुवाँ परीक्षण र मापदण्डको कडाइका साथ कार्यान्वयन आवश्यक रहेको सुझाव दिनुभयो ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जिव अधिकारीले बिहीबारदेखि नै मौसममा सुधार आएको र वर्षा भएसँगै वायुमा रहेको प्रदूषण हटाउन मद्दत गरेको जानकारी दिनुभयो । उहाँका अनुसार विगत २४ घण्टामा सबैभन्दा धेरै वर्षा वाग्मती प्रदेशको चितवनको नारायणी फिल्ड कार्यालयमा रहेको मौसम मापन केन्द्रमा १२६.२ मिलिमीटर मापन भएको छ ।

त्यस्तै गण्डकी प्रदेशको लमजुङ घरेढुङ्गा केन्द्रमा १०२.२ मिलिमीटर र गोरखाको बारपाक केन्द्रमा ९० मिलिमीटर वर्षा मापन गरिएको छ । साथै कोशी प्रदेशको उदयपुर कटारीमा ९८.४ मिलिमीटर तथा झापाको चन्द्रगढी विमानस्थल केन्द्रमा ९६.४ मिलिमीटर वर्षा मापन गरिएको थियो ।

एक्युआइको मापदण्डअनुसार ० देखि ५० सम्म ‘राम्रो’ मानिन्छ भने ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ श्रेणीमा पर्छ । एक सय एकदेखि १५० ‘अस्वस्थ’ मानिन्छ, जसले विशेषगरी श्वासप्रश्वास तथा मुटु रोगीलाई असर गर्न सक्छ । एक सय ५१ देखि २०० ‘सबैका लागि अस्वस्थ’, २०१ देखि ३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.