सभापति थापाको राजीनामा अस्वीकृत गर्दै सकियो काँग्रेसको बैठक
के-के छन् राजीनामा अस्वीकृत गर्नुपर्ने आधारहरु?

काठमाडौँ- नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिले सभापति गगनकुमार थापाले दिनुभएको राजीनामा अस्वीकृत गरेको छ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामलाई लिएर यसको नैतिक जिम्मेवारी लिँदै उपसभापति समक्ष विधानको धारा २६ (१) वमोजिम सभापति थापाले पेश गर्नुभएको राजीनामालाई केन्द्रीय कार्यसमितिको बैठकले सर्वसम्मत रूपमा अस्वीकृत गर्ने निर्णय गरेको हो ।
आज बैठकपछि प्रेस वक्तव्य जारी गर्दै काँग्रेस प्रवक्ता देवराज चालिसेले सभापतिको राजीनामा अस्वीकार गर्ने आधारहरुको बारेमा स्पष्ट पार्नुभएको छ ।
जसमध्ये निर्वाचन पराजयका प्रमुख कारणहरू संरचनागत समस्या तथा नियन्त्रणबाहिरका परिस्थितिहरू रहेको र वर्तमान जटिल राष्ट्रिय परिस्थितिमा सभापति थापाको नेतृत्व अझ आवश्यक रहेको अनुभूति भएको विज्ञप्तीमा उल्लेख छ ।
यसैगरी, राजीनामा स्वीकार गर्दा पार्टीभित्र अनावश्यक अस्थिरता, अन्योल तथा कार्यकर्ताको मनोबलमा गिरावट आउने सम्भावना रहेकोले सभापतिको राजीनामा अस्वीकार गरिएको भनिएको छ।
राजीनामा बाध्यकारी नभई नैतिक र स्वेच्छिक विषय भएकाले यसको सम्मान गर्दै अस्वीकार गर्नु उपयुक्त देखिएकोले केन्द्रीय समितिले थापाको राजीनामा अस्वीकारेको जनाएको छ।
साथै, काँग्रेसले विशेष महाअधिवेशन पश्चात प्रारम्भ गरिएको सुधार कार्यक्रम (कांग्रेस २.०) कार्यान्वयनको निरन्तरता आवश्यक रहेको विषयलाई सभापति थापाको राजीनामा अस्वीकार गर्ने आधार बनाएको छ ।
बैठकले उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएको २७ बुँदे प्रारम्भिक समीक्षा प्रतिवेदनमाथि विस्तृत छलफल गर्दै निर्वाचन परिणामलाई लिएर जिल्ला र निर्वाचन क्षेत्रवाट पनि प्रतिवेदन पठाउने निर्णय पनि गरेको छ ।
काँग्रेसले निर्वाचनमा आएको परिणाम चरम गुटबन्दी तथा आन्तरिक असहयोगका कारण संगठनात्मक शक्ति कमजोर भएकोले भन्ने निश्कर्ष निकालेको छ ।
गठबन्धन सरकारको कार्यसम्पादनमा जनअपेक्षाविपरीत परिणाम देखिनु र विगतका शासन व्यवस्थाका संरचनागत कमजोरीहरूका कारण जनआक्रोश बढ्नु पनि पराजयको कारण रहेको काँग्रेसको ठहर छ ।
जेन-जी युवा आन्दोलनले पुराना राजनीतिक शक्तिहरूप्रति असन्तोष अभिव्यक्त गर्नु र डिजिटल युगमा एल्गोरिदमिक प्रभावका कारण नयाँ शक्तिहरू लाई प्रतिकृयात्मक लाभ पुगेको विश्लेषण काँग्रेसले गरेको छ।
यसैगरी, कांग्रेस अब पूर्ण रूपमा १५औँ महाधिवेशनतर्फ केन्द्रित हुने र सो महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन, विधान संशोधन, संगठनात्मक पुनर्संरचना तथा भावी रणनीति निर्धारण गरिने काँग्रेसको बैठक पछि जारी विज्ञप्तीमा उल्लेख छ ।
काँग्रेसले पार्टी नवनिर्माण र सुदृढीकरणका लागि निर्वाचन परिणामलाई आत्म समीक्षा गर्दै पार्टीलाई पुनर्जागरण र पुनर्निर्माण गर्ने अवसर का रूपमा लिएको जनाएको छ ।
यसका लागि सम्पूर्ण कार्यकर्तालाई उच्च मनोबल कायम राख्न, अनुशासनमा रहन र पार्टी एकता सुदृढ गर्न काँग्रेस आव्हान गरेको छ ।
बैठक २०८२ चैत्र ६ देखि ८ गतेसम्म उपसभापति श्री विश्वप्रकाश शर्माको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकमा उपसभापतिद्वारा प्रस्तुत विषयमाथि ८८ जना सदस्य तथा पदाधिकारिहरू द्वारा आफ्नो धारणा राख्नुभएको थियो ।।






प्रतिक्रिया राख्नुहोस्