जानीजानी वनमा डढेलो लगाउने प्रवृत्ति बढ्दो

दमौली (तनहुँ)- सामुदायिक वनमा मानिसले जानीजानी डढेलो लगाउने प्रवृत्ति बढ्दै गएको छ । सामुदायिक वनमा ९० प्रतिशभन्दा बढी डढेलो मानव सिर्जित हुने गरेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटले जानकारी दिनुभयो ।

त्यसमध्ये ६४ प्रतिशत डढेलो मानिसले जानाजान लगाउने गरेको रानाभाटले बताउनुभयो । मानिसले जानीजानी लगाउने डढेलो नियन्त्रण नै अहिलेको प्रमुख चुनौती रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सामुदायिक वनमा यत्तिकै आगो लाग्ने सम्भावना निकै कम छ, मानिसले नयाँ घाँस पलाउँछ भनेर डढेलो लगाइदिने गरेका छन् । यसलाई पूर्ण रूपमा रोक्न सकिएको छैन ।”

रानाभाटका अनुसार चरिणका लागि आगो लगाउने प्रवृत्ति ३० प्रतिशत, चुरोट पिउनेबाट १५, शिकारीबाट सात, वनभोज क्याम्पफाइरिङ आउनेहरूबाट सात, बच्चाहरू खेल्दा छ, अवैध काठ कटान गर्नेहरूबाट पाँच, अतिक्रमणकारीबाट पाँच, खोरिया फँडानीबाट पाँच, गोल पोल्नेबाट चार प्रतिशत र बाँकी जडिबुटी सङ्कलकबाट डढेलो लाग्ने गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा ७१ वटा सामुदायिक वनका एक हजार ३२२ हेक्टर क्षेत्रफलमा डढेलो लागेको थियो । यस्तै आव २०८१/८२ मा ८४ सामुदायिक वनका छ सय ६२ हेक्टर क्षेत्रफलमा डढेलो लागेको रानाभाटले जानकारी दिनुभयो । दक्ष जनशक्तिको कमी, आधुनिक उपकरणको अभाव, बजेट कमलगायत कारणले डढेलो नियन्त्रणमा समस्या हुँदै आएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “वनमा डढेलो लगाउनेलाई नियन्त्रणमा लिएर कारबाही गर्न पनि सकेका छैनौँ, लुकिछिपी डढेलो लगाउँदा पहिचान खुलाउनै गाह्रो भइरहेको अवस्था छ ।” उहाँका अनुसार जिल्लाभर छ सय २५ सामुदायिक वन छन् ।

सामुदायिक वनका उपभोक्तालाई डढेलो नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम भइरहेका छन् । डिभिजन वन कार्यालय र आठ वटा सवडिभिजन कार्यालयमार्फत सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार वन डढेलोले कम्तिमा दश प्रतिशत तापक्रम बढाउने गर्दछ ।

डढेलोबाट भुइँमा झरेका रुखको बीउ डढेर उम्रन नपाउने, लाथ्रा अवस्थाको वनमा डढेलो लागेमा रुखमा धोद्रो हुने, डढेलोले वनमा भएको जैविक विविधतामा ह्रास आउने, वन्यजन्तुको वासस्थान विनाश भई त्यसको संरक्षण र विकासमा बाधा पुग्ने, वनमा लागेको आगो नजिकको गाउँघरमा सरी जनधनको क्षति हुनेलगायत जोखिम रहेका वन अधिकृत श्रेष्ठले बताउनुभयो । गर्मी मौसममा बिडी, चुरोट खाएर जथाभाबी फाल्नाले, वन्यजन्तु भगाउन तथा नयाँ घाँस उमार्नका लागि आगो लगाउनाले डढेलो झन बढ्दै गएको उहाँको भनाइ छ ।

वन डढेलो नियन्त्रणका लागि तनहुँमा र्‍यापिड रेस्पोन्स टिम गठन

वन डढेलो नियन्त्रणलाई प्रभावकारी र द्रुत बनाउन तनहुँमा बहुपक्षीय सहभागितासहित ¥यापिड रेस्पोन्स टिम (द्रुत प्रतिकार्य टोली) गठन गरिएको छ । डिभिजन वन कार्यालय तनहुँको पहलमा वन, प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा सामुदायिक वन उपभोक्ता महासङ्घका प्रतिनिधिसहित उक्त टोली गठन गरिएको हो ।

वन अधिकृत श्रेष्ठको संयोजकत्वमा गठित समितिको सदस्यहरूमा जिल्ला प्रशासन कार्यालयका कर्मचारी गोपाल पोखरेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव पाठक, सशस्त्र प्रहरी बलका निरीक्षक रामशरण विष्ट, अनुसन्धान अधिकृत रेवन पोखरेल, कालीभञ्जन गण (इ) का सहसेनानी पोखरेन्द्र राना तथा सामुदायिक वन उपभोक्ता महासङ्घ तनहुँका अध्यक्ष विष्णुकुमार श्रेष्ठ रहनुभएको छ ।

टोली गठनसँगै वन डढेलो लाग्ने बित्तिकै तत्कालै घटनास्थलमा पुगेर नियन्त्रण, उद्धार तथा समन्वय कार्यलाई तीव्र बनाउने लक्ष्य राखिएको छ । विशेषगरी सुख्खा मौसममा डढेलोको जोखिम बढ्दै जाने भएकाले पूर्वतयारी स्वरूप यस्तो टोली गठन गरिएको संयोजक श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठले वन डढेलो नियन्त्रणमा ढिलाइ हुँदा ठूलो क्षति हुने भएकाले तत्काल प्रतिक्रिया दिने संयन्त्र आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “डढेलो नियन्त्रणमा समय सबैभन्दा महत्वपूर्ण हुन्छ । त्यसैले विभिन्न निकायबीच समन्वय गरी छिटो परिचालन हुने गरी रेस्पोन्स टिम गठन गरिएको हो ।”

उहाँले स्थानीय तह, सामुदायिक वन उपभोक्ता समूह तथा सर्वसाधारणसँग सहकार्य गरेर सचेतना अभिवृद्धि, निगरानी तथा पूर्वतयारीका कार्यक्रमलाई पनि सँगसँगै अघि बढाइने जानकारी दिनुभयो । “मानवीय लापरबाहीका कारण धेरैजसो डढेलो लाग्ने भएकाले जनचेतना अत्यन्त आवश्यक छ”, उहाँले भन्नुभयो ।

सम्बन्धित निकायहरूको संयुक्त प्रयासबाट वन डढेलो न्यूनीकरणमा प्रभावकारी उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ । साथै, टोलीले जोखिमयुक्त क्षेत्रको पहिचान, नियमित निगरानी तथा आकस्मिक अवस्थामा तत्काल परिचालन भई क्षति न्यूनीकरण गर्ने लक्ष्य राखिएको डिभिजन वन कार्यालयका प्रमुख रानाभाटले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.