बालेन प्रधानमन्त्री बन्दै, मन्त्री को–को बन्ने? चासो बढ्दो, यी हुन चर्चामा रहेका नाम

काठमाडौँ- आज मुलुकको कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्री पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) ले शपथ लिँदै हुँनु हुन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेनले प्रधानमन्त्री पदको शपथ लिने तयारी भइरहँदा अन्य विभागीय मन्त्रालयमा को–कोले शपथ लिन्छन् भन्ने विषय अहिले चर्चा र चासोको केन्द्र बनेको छ।

प्रधानमन्त्री शाह हुने टुंगो लागिसकेको भए पनि अन्य मन्त्रालय र मन्त्री को–को हुने भन्ने विषयमा रास्वपाले अझै निर्णय गरेको छैन। दलका शीर्ष नेताहरू हिजोदेखि नै मन्त्रीमण्डलमा कसलाई पठाउने भन्ने विषयमा निरन्तर छलफलमा रहेका रास्वपा नेताहरूले बताएका छन्।

“नेताहरू छलफलमै हुनुहुन्छ। पार्टीभित्रै पनि को–को मन्त्री बन्दैछन् भन्ने एकिन जानकारी आइसकेको छैन। अनुमानका आधारमा केही नाम बाहिर आए पनि यही नै हो भन्ने अवस्था छैन,” नव निर्वाचित सांसद डा. विक्रम तिमिल्सिनाले नेपाल टिभी अनलाइनसँग कुरा गर्दै भन्नुभयो।

२१ फागुनमा भएको निर्वाचनमा रास्वपा झन्डै दुईतिहाइ नजिक सिट जित्दै पहिलो दल बनेको छ। १८२ सिट जितेको रास्वपाले नेपालको संविधानको धारा ७६ को उपधारा (१) अनुसार एकल सरकार बनाउँदैछ।

प्रधानमन्त्रीमा बालेनको टुंगो भइसके पनि अन्य मन्त्रालय र मन्त्री को–को हुने भन्नेबारे रास्वपाले खुलाएको छैन। धेरै आकांक्षी तथा मिडिया र सार्वजनिक बहसमा विषय जाँदा वातावरण बिग्रने भन्दै रास्वपाले मन्त्रीहरूको नाम सार्वजनिक गर्न चाहेको छैन।

को–को चर्चामा छन्?

रास्वपाले बनाउने मन्त्रिपरिषदमा केही नाम चर्चामा रहेका छन्। अर्थविद् तथा पार्टी उपसभापति स्वर्णिम वाग्ले अर्थमन्त्री बन्ने चर्चा छ। चुनावअघि सभापति रवि लामिछानेले स्वर्णिमलाई “बजेट लेख्दै गर्नु” भन्दै निर्देशन दिनुभएको थियो। यही विषयलाई वाग्ले मन्त्री बन्ने बलियो आधारका रूपमा लिइएको छ।

यस्तै, अर्का नेता शिशिर खनाल परराष्ट्रमन्त्री बन्ने चर्चा छ। खनालसँगै परराष्ट्र मामिलाका जानकार भएकाले डा. तिमिल्सिनाको नाम पनि चर्चामा आएको छ। खनाल अघिल्लो पटक छोटो समयका लागि शिक्षा मन्त्री बन्नुभएको थियो।

यस बाहेक गृह मन्त्रालयमा डीपी अर्याल र  पार्टी महामन्त्री सुनिल लम्साल पनि मन्त्री बन्ने सक्ने चर्चा भएको छ।

यसैगरी, काठमाडौं–५ बाट निर्वाचित सस्मित पोखरेललाई शिक्षामन्त्री बनाउने चर्चा छ। बालेन काठमाडौं महानगरपालिकाको मेयर रहेका बेला पोखरेलले विज्ञका रूपमा काम गर्नुभएको थियो।

त्यसैगरी, काँग्रेस सभापति गगनकुमार थापालाई पराजित गर्नु भएका डा. अमरेशकुमार सिंह पनि मन्त्रीका आकांक्षी रहेको बताइएको छ।

यस्तै, गुल्मी–१ बाट चुनाव जितेका सागर ढकाल, विराजभक्त श्रेष्ठ र सोविता गौतमको पनि चर्चा उत्तिकै छ। रास्वपाले भने १६ देखि बढीमा १८ वटा मन्त्रालय मात्र राख्ने तयारी गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.