हराए मौलिक भाका, फेरियो चैतेदसैँ

गलकोट (बागलुङ)-
‘चैतेदसैँ मेलैमा
झर्छ आँशु छुट्ने बेलैमा’

चैतेदसैँको विषयलाई समेटेर गायक विमलराज क्षेत्री, टीका क्षेत्री र शर्मिला गुरुङले २२ वर्षअघि गाएको गीतको अंश हो यो । बागलुङको चैतेदसैँ मेलाका रुपमा मात्रै नभई प्रेम र प्रेमिकाको भेट्ने छुट्ने मौकाका रूपमा रहेको गीतले पुष्टि गर्दछ । चैतेदसैँ मेलामा भेटिएका पुन अर्को मेलामा भेट्ने बाचाका साथ छुटेको भावलाई गायक क्षेत्रीले धेरै पहिले गीतमा उतार्नुभएको थियो ।

‘चैतेदसैँ बागलुङे मैलैमा
लाइदेउँ माया भेट भाको बेलामा’

यस्तै गायक टीका क्षेत्रीले देढ दशक पहिला गाएको गीतको अंशले समेत चैतेदसैँमा भेट्ने र माया पिरती लगाउने कुरालाई पुष्टि हुन्छ । यो गीतमा भनेजस्तै स्थानीय उत्पादनको खरिद बिक्रीसँगै माया पिरतीका लागि समेत चैतेदसैँ मेला प्रख्यात हो । चैतेदसैँको अवसरमा यस वर्ष बागलुङ कालिका मन्दिर परिसरमा मङ्गलबारदेखि चैतेदसैँ मेला लागिरहेको छ ।

मेला फेरिएजस्तै चैतेदसैँसँग सम्बन्धित रहेका मौलिक भाकासमेत फेरिएका छन् । चैतेदसैँमा गाइने लोकदोहरीमार्फत सयौँ कलाकारसमेत बागलुङले जन्माइसकेको छ । ऐतिहासिक पुरानो मेलाका रूपमा रहेको चैतेदसैँ मेला पछिल्लो समय फेरिएको पाइन्छ । चैतेदसैँको अवसरमा गाइने मौलिक भाकासमेत हराएका छन् भने रमाइलो मेलामा आकर्षण बढेको छ । मेलामा मौलिक झाँकीहरू देखाए पनि यसपटकबाट भने लोकदोहोरी प्रतियोगिता नै नभएको हो ।

चैतेदसैँमा कालिका मन्दिर दर्शन गर्न आउने र वर्षभरिलाई आवश्यक सामग्री खरिदबिक्री गर्ने कार्यसमेत परिवर्तन भएको छ । चैतेदसैँको अवसरमा गाइने ‘एउटो पैसो कहिलेलाई चैतेदसैँलाई’ भन्ने गीत लोप भइसकेको छ । यस्तै ‘रेरे साइलो’, ‘यानीमया’, ‘ठाडो भाका’ र सालैजो’ जस्ता मौलिक भाका सुन्नै छाडिएका छन् । अहिले आधुनिक गीतले मेलालाई गिजोलेको स्थानीय जानकार काजी गाउँले श्रेष्ठले जानकारी दिनुभयो ।

अहिले आयातित सामग्री खरिदबिक्री गर्ने र रेकर्ड गरिएका गीतमा नाचगान गर्ने गरिन्छ । मेलामा हालिने लिङ्गे पिङ र चर्खेपिङको सट्टामा अहिले रमाइलो झुला (आधुनिक पिङ) राखिएको छ । चैतेदसैँ मेलाको मौलिकता फेरिएको ८२ वर्षदेखि मेलाको अवलोकन गर्दै आउनुभएका स्थानीय दुर्गा आचार्यले मेलाको मौलिकता फेरिएको बताउनुभयो ।

स्थानीय घनश्याम सापकोटाका अनुसार मेलामा प्लाष्टिकका सामग्री खरिदबिक्री बढेकाले ठेका तथा डालोको बिक्री कम भएको हो । “रातभरि रेरे साइलो, सालैजो गीत गाएर जाग्राम बसिन्थ्यो, अहिले त कलकारहरूले साँझमा आउने ट्रयाकमा गाउने चलन छ, पहिलाजस्तो मौलिकता मेलाको छैन, गाउँगाउँमा मेला पर्व लाग्न थाले, चैतेदसैँ मेलाप्रतिको चाख घटेको छ तर मन्दिर दर्शनार्थीहरूको सङ्ख्या बढेको छ ।”

चैतेदसैँ मेला र बागलुङ कालिका मन्दिरसँगै जोडिएर आउँछन् । यहाँको प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिर यस क्षेत्रकै चिनारीको रूपमा रहेको छ । चैतेदसैँ मेला बागलुङको मौलिक परम्पराजस्तै बने पनि आधुनिकताको प्रभावले मौलिकता जोगाउन कठिन भए पनि हनुमान नाच र सालैजोजस्ता झाँकी देखाइएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काले बताउनुभयो ।

तीन सय वर्ष पुरानो हनुमान नाच देखाइएको तर रातमा जाग्राम बस्ने चलन हराइसकेको बताउनुभयो । “ठेका, डालो र नाङ्लो जस्ताको कक्षलाई निःशुल्क गरेका छौँ तर उनीहरूको भन्दा खानपानको कक्षहरू बढी चलेको देखिन्छ”, खड्काले भन्नुभयो, “भजन, रत्यौली र यानीमायाजस्ता गीत गाउने प्रयास गरे पनि यसपटक लोकदोहोरी प्रतियोगिता गर्न नसकिएको हो ।”

मन्दिर वरपर पाल टाँगेर स्थानीय उत्पादन, कोदो, मकै, धान, चामल, भाँगो, डाला, नाङ्ला, ठेका, आँसी, बाउसा, मान्द्रो, थुन्से, मादल भाडाँकुँडालगायतका दैनिक उपभोग्य वस्तु खरिदबिक्री हुने गरेकामा अहिले खेलौना सामग्री र मदिरा र खानाका परिकार बढी बिक्री हुने गरेको पाइएको छ । मेलामा स्थानीय उत्पादनको कक्ष देख्न सकिए पनि न्यूनतम कारोबार भइरहेको बडिगाड गाउँपालिकाबाट चोयाका सामग्री बिक्री गर्न मेलामा आउनुभएका सन्तोष विश्वकर्मा बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.