प्रधानमन्त्री शाहद्वारा सांसदहरूसँग छलफल

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले सङ्घीय सांसदहरूसँग चरणबद्ध छलफल आरम्भ गर्नुभएको छ । उहाँले आज सिंहदरबारमा कोशी र कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्नुहुने विभिन्न राजनीतिक दलका सांसदहरूसँग छलफल गर्नुभएको हो ।
प्रधानमन्त्री शाहले सम्बन्धित क्षेत्रका समस्या र मुद्दा तथा काम गर्न सकिने सम्भावनाका बारेमा सांसदहरूसँग छलफल गर्नुभएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले जानकारी दिनुभयो । “प्रधानमन्त्रीज्यूले क्षेत्रगत विषयमा समस्या, क्षेत्रगतरूपमा ‘ब्रिफिङ’ लिनुभयो । तत्काल गर्नुपर्ने कामको बारेमा जानकारी लिनुभयो”, उहाँले भन्नुभयो ।
प्रत्येक सांसदले क्षेत्रगतरूपमा आ–आफ्नो समस्या राखेको सांसद चौधरीले जानकारी दिनुभयो । सांसद चौधरीले आफूले ट्रेड युनियनहरूले उठाइरहेको लेबी शुल्क रोक्नका लागि श्रम ऐनको २०७४ दफा ३८ (ज) संशोधन गर्नुपर्नेबारेमा ध्यानाकर्षण गराएको बताउनुभयो ।
त्यसै गरी राप्रपा सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री शाहसँगको भेट सकारात्मक र फलदायी रहेको बताउनु भएको छ ।
”सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह ज्यूसँगको भेट अत्यन्त सकारात्मक, फलदायी र ऊर्जावान रह्यो। उक्त भेटवार्तामा कर्णाली प्रदेशसहित सम्पूर्ण नेपालको समग्र तथा दिगो विकासका लागि विभिन्न महत्वपूर्ण विषयहरू प्रस्तुत गरिएको थियो। विकासका आधारभूत संरचना सुदृढीकरण, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन तथा स्थानीय स्रोत–साधनको अधिकतम उपयोगजस्ता बुँदाहरूमा विशेष जोड दिइएको थियो। साथै, कर्णालीको समावेशी विकासमार्फत राष्ट्रिय समृद्धिमा टेवा पुर्याउने स्पष्ट दृष्टिकोण पनि राखिएको थियो। यो भेटले सकारात्मक सहकार्य र भविष्यका लागि आशा जगाउने महत्वपूर्ण आधार तयार गरेको छ।”
उहाँले फेसबुकमा लेख्नु भएको छ ।






प्रतिक्रिया राख्नुहोस्