भारतीय सहयोगमा नेपालमा निर्माण हुने ७ परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ – भारत सरकारको सहयोगमा नेपालमा निर्माण हुने ७ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपालको शिक्षा, स्वास्थ्य तथा कृषिका क्षेत्रमा सञ्चालन हुने गरी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
बिहीबार एक कार्यक्रमका बिच भारतीय राजदूतावास, नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल सरकारका परियोजना कार्यान्वयन निकायहरूबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ।
भारत सरकारको अनुदान सहयोगमा सञ्चालन हुने यी परियोजनाहरूको कुल अनुमानित लागत करिब ४७ करोड ३०लाख रुपैयाँ रहेको छ ।
परियोजनाहरू स्थानीय तह, नगरपालिका तथा गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछन् ।
सम्झौताअन्तर्गत नवलपुरको मध्य विन्दु नगरपालिका–२ र तेह्रथुमको लालीगुराँस नगरपालिका–२ मा चिस्यान भण्डारण (कोल्ड स्टोर) निर्माण गरिनेछ । त्यसै गरी मुस्ताङको घरपझोंग गाउँपालिका–२ स्थित जनबल माध्यमिक विद्यालयमा भवन, छात्रावास र क्यान्टिन निर्माण, कैलालीको गौरीगंगा नगरपालिका–११ मा श्री कालिका प्राथमिक विद्यालय भवन निर्माण, रौतहटको परोहा नगरपालिका–४ मा बर्थिङ सेन्टर निर्माण गरिनेछ ।
यसका साथै डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका–७ मा श्री कस्तुरी माध्यमिक विद्यालय भवन तथा बाँकेको खजुरा गाउँपालिका–४ मा श्री जनकल्याण माध्यमिक विद्यालय भवन निर्माण गरिने कार्यक्रम पनि समावेश छन् ।
सन् २००३ यता भारत सरकारले नेपालमा यस्ता ५९८ उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको जनाएको छ । तीमध्ये ५०६ परियोजना स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी, सरसफाइ, पूर्वाधार तथा सार्वजनिक सेवा क्षेत्रमा सम्पन्न भइसकेका छन् भने बाँकी परियोजना विभिन्न चरणमा कार्यान्वयनमा रहेका छन् ।
दुई छिमेकी मुलुकबिच बहु आयामिक सहकार्य जारी रहेको सन्दर्भमा यस्ता परियोजनाले नेपालको प्राथमिकता प्राप्त क्षेत्रमा पूर्वाधार विकास र आर्थिक–सामाजिक उन्नयनमा सहयोग पुग्ने अपेक्षा गरिएको दूतावासले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्