विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब रुपैयाँ विप्रेषण

काठमाडौँ- चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँबराबरको विप्रेषण देशभित्र पठाएका छन् । नेपाल राष्ट्र बैंकको विवरणअनुसार विप्रेषण आप्रवाहमा ३७.७ प्रतिशतले वृद्धि भएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९.५ प्रतिशतले बढेको थियो । गत फागुनमा विप्रेषण आप्रवाह एक खर्ब ८८ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह एक खर्ब ५१ अर्ब १९ करोड रुपैयाँ बराबर थियो ।
सो अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३१ प्रतिशतले वृद्धि भई १० अर्ब १५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले बढेको थियो ।
केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १५ खर्ब ९१ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ११ खर्ब ४९ अर्ब ३० करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख ७३ हजार ५३६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ५१ हजार ९८५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः तीन लाख १७ हजार ०६८ र दुई लाख १७ हजार ४०३ रहेको थियो ।
त्यस्तै, समीक्षा अवधिमा चालु खाता पाँच खर्ब ५२ अर्ब ८५ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ९७ अर्ब ३ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ४६ करोड रुपैयाँले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा तीन अर्ब ८८ करोड रुपैयाँले बचतमा रहेको छ ।
यस्तै, फागुन मसान्तस्म्म १० अर्ब ८४ करोड रुपैइाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) आठ अर्ब ४७ करोड रुपैयाँ रहेको थियो । सो अवधिमा शोधनान्तर स्थिति छ खर्ब ५८ अर्ब ३५ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति तीन खर्ब १० अर्ब ३७ करोड रुपैयाँले बचतमा रहेको थियो ।





प्रतिक्रिया राख्नुहोस्