रेडियो नेपालको ७६औँ वार्षिकोत्सवमा मन्त्री तिमिल्सिनाद्वारा शुभकामना

काठमाडौं- नेपालको पहिलो प्रसारण माध्यम रेडियो नेपाल ७६औँ वर्षमा प्रवेश गरेको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. बिक्रम तिमिल्सिनाले हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ।
२००७ साल चैत २० गते स्थापना भएको रेडियो नेपालले लामो इतिहास पार गर्दै सार्वजनिक सेवा प्रसारण संस्थाका रूपमा रूपान्तरण गरेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले राष्ट्रिय एकता, विपद् व्यवस्थापन तथा समृद्धिको अभियानमा संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो। उहाँले नागरिक केन्द्रित सेवा प्रवाहमा रेडियो नेपालको योगदान प्रशंसनीय रहेको धारणा व्यक्त गर्नुभयो।
शुभकामना सन्देशमा उहाँले नागरिकलाई प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्न प्रसारण क्षमता विस्तार गरी भू–सतही प्रविधिमार्फत देशको सबै भू–भागमा पहुँच पुर्याउने प्रयास जारी रहेको उल्लेख गर्नुभयो।
उहाँले हालै सम्पन्न आम निर्वाचनबाट प्राप्त जनादेशअनुसार सरकारले शासकीय सुधारका एक सय कार्यसूची स्वीकृत गरी कार्यान्वयन गरिरहेको उल्लेख गर्दै रेडियो नेपालले यी विषयलाई प्राथमिकताका साथ प्रसारण गर्ने विश्वास व्यक्त गर्नुभयो।
सार्वजनिक सेवा प्रसारण संस्थाका रूपमा रूपान्तरणपछि रेडियो नेपालको दायित्व र जवाफदेहिता अझ बढेको बताउँदै उहाँले आगामी दिनमा अझ गुणस्तरीय, तथ्यपरक र नागरिकमैत्री सामग्री उत्पादनमा जोड दिन आग्रह गर्नुभयो।
अन्त्यमा, मन्त्री तिमिल्सिनाले रेडियो नेपालका सम्पूर्ण श्रोता, शुभेच्छुक तथा कर्मचारीप्रति शुभकामना व्यक्त गर्दै संस्थाको निरन्तर प्रगतिको कामना गर्नुभएको छ।






प्रतिक्रिया राख्नुहोस्