दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दो

काठमाडौँ-  करिब डेढ महिना अघि २२ सय रुपैयाँ पर्ने २५ केजीको एक बोरा चामलको मूल्य अहिले २४ सयको हाराहारीमा पुगेको छ। प्रति कार्टुन १८ सयदेखि २ हजार रुपैयाँ पर्ने सूर्यमुखी तेलको मूल्य अहिले २८ सयदेखि ३ हजारको हाराहारीमा पुगेको छ। त्यस्तै, दाल तथा गेडागुडी पनि प्रतिकिलो २० रुपैयाँसम्म बढेको व्यापारीहरू बताउँछन्।

पश्चिम एसिया द्वन्द्व  कारण पेट्रोलिय पदार्थको मुल्यबृद्धिको असर नेपाली भान्छाहरुमा पर्दा दैनिक उपभोग्य वस्तुको मूल्य बढेका कारण दिनभरि काम गरेर बिहान–बेलुका छाक टार्ने उपभोक्ताहरूको दैनिकी निकै कष्टकर बनेको छ।

व्यापारीहरू भने एक–दुई महिनाकै अन्तरमा अधिकांश सामानको थोक मूल्य बढेर आउने भएकाले आफूहरूले सोही अनुसार बेच्ने गरेको बताउँछन्।

बढेको मूल्यमा सामान बेच्दा उपभोक्ता रिसाउने र नबेच्दा सामान नपाएको भन्दै गुनासो गर्ने अवस्था रहेको व्यापारीहरूको भनाइ छ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि दर गत माघ महिनामा २ दशमलव ५० प्रतिशत रहेकामा फागुन महिनामा ३ दशमलव ६० प्रतिशत पुगेको छ। गत वर्षको सोही अवधिको तुलनामा ० दशमलव २६ प्रतिशत बिन्दुले महँगी बढेको देखिएको छ।

बजारमा देखिएको मूल्यवृद्धिलाई नियन्त्रण गर्न सरकारले परम्परागत अनुगमन प्रणाली छोडेर अहिलेको एआई तथा डिजिटल प्रविधिको प्रयोग गरी प्रभावकारी रूपमा बजार अनुगमन गर्नुपर्नेमा अर्थविद् रेशम थापाले जोड दिनुभएको छ।

विगतमा पनि व्यापारी र बिचौलियाले विभिन्न कारण देखाउँदै बजारमा जथाभावी मूल्य बढाउने गरेका थिए। सरकारी निकायले अनुगमन गरिरहेको दाबी गरे पनि उपभोक्ता भने सधैं मारमा पर्ने गरेका छन्।

त्यसैले कालाबजारी गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने र जथाभावी मूल्य बढाउने बिचौलिया तथा व्यवसायीलाई व्यवहारमै कडाइका साथ कारबाही गर्नुपर्ने उपभोक्ताको माग छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.