भलिबलको एउटै टिममा परिवारका चार जना सदस्य

म्याग्दी- यहाँको धवलागिरि गाउँपालिका-३ फलियागाउँको एउटा भलिबल टिममा एकै घरका चार जना सहभागी छन् । छ जना खेलाडी आवश्यक पर्ने भलिबल टिममा सबहादुर गोतामे र उनका तीन छोराहरू स्थायी सदस्य हुन् । बयालीस वर्षीय सबहादुरका २० वर्षीय नरेश, १९ वर्षीय नवीन र १७ वर्षीय केशव भलिबलका खेलाडी हुनुहुन्छ ।

दुई जना परिवार बाहिरका खेलाडीलाई थपेर विभिन्न ठाउँमा आयोजना हुने भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने उनीहरू ‘घरपरिवार भलिबल’ समूहका नामले चिनिन थालेका छन् । “बुबा सबहादुर सानैदेखि भलिबल खेल्दै आउनुभएको छ”, नरेशले भन्नुभयो, “हामी पनि बुबाको खेल कलाबाट प्रभावित भएर भलिबल खेल्न सिकेका र घरपरिवारकै टिम बनाएर प्रतियोगितामा खेल्न थालेका हौँ ।” कक्षा १२ उत्तीर्ण गरेका नरेशले बुबाको घोडा व्यवसायलाई सघाउँदै आउनुभएको छ । नवीन र केशव फलियागाउँको कक्षा १२ मा अध्ययनरत छन् ।

एकै किसिमका अग्लो र पातलो जिउडाल भएका सबहादुर र उहाँका छोरा भलिबल टिमको सेटर, रेज, लिब्रोलगायत सबै खेलाडीको भूमिका निभाउन सक्नुहुन्छ । घरपरिवार भलिबल समूहले हालै धवलागिरि गाउँपालिका-७ धारापानी र वडा नं २ खोरियामा आयोजित प्रतियोगितामा उपाधि जितेको छ ।

नवीन र केशवले धवलागिरि गाउँपालिकाले पछिल्लोपटक आयोजना गरेको राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगितामा एथलेटिक्सतर्फ तीन÷तीनवटा स्वर्ण पदक दिलाउँदै धजनता माविलाई विजयी बनाउन योगदान गर्नुभयो । नरेशले पनि धवलागिरि गाउँपालिकाको तर्फबाट प्रदेशस्तरीय भलिबल प्रतियोगितामा सहभागी हुने अवसर पाउनुभएको छ ।

नरेश र नवीनले प्रदेशस्तरीय दौड र ज्यावलिङ थ्रो प्रतियोगितामा पनि भाग लिनुभएको छ । केशवले गत माघमा जिल्ला भलिबल सङ्घले आयोजना गरेको म्याग्दी कप भलिबल प्रतियोगितामा उत्कृष्ट सेटरको उपाधि जित्नुभएको थियो । मध्यमवर्गीय पारिवारिक पृष्ठभूमि भएका सबहादुर कतारमा दुई वर्ष रोजगारी गरेर फर्कनुभएको हो । कतारबाट फर्किएपछि ढुवानी व्यवसायका लागि सबहादुरले घोडापालन गर्दै आउनुभएको छ ।

आठवटा घोडा पाल्नुभएका सबहादुर घोडामा बोकाएर तरकारी र फलफूल बिक्रीका लागि गाउँ-ठाउँमा पनि पुग्ने गर्नुहुन्छ । फुर्सदको समय र मेलाजात्रामा उहाँहरूको टोली भलिबल प्रतिस्पर्धा गर्न जानुहुन्छ । उहाँहरूको खेल मन पराएर दर्शकले आर्थिक सहयोगका साथै पोशाक सहयोग गर्न थालेका छन् । मुना घर भई हाल अस्ट्रेलियामा रहेका इम रोकाले शनिबार २७ हजार रुपैयाँ मूल्यबराबरको जर्सी र ट्रयाक उपलब्ध गराउनुभएको छ । अमेरिकामा रहेका दलबल रोका, टेक रसाइली र अस्ट्रेलियाबाट ठहरबहादुर भण्डारीले पनि उनीहरूलाई जर्सी सहयोग गर्नुभएको छ ।

“सहयोगले हामीलाई भलिबल खेलमा निरन्तर सक्रिय हुन हौसला मिल्नुका साथै उत्साह पैदा भएको छ”, सबहादुरले भन्नुभयो, “शारीरिक अवस्थाले साथ दिँदासम्म भलिबल खेलमा निरन्तर सक्रिय रहनेछु ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.